काठमाडौं: सरकारले कोभिड १९ प्रतिकार्य प्रगति विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रवार प्रगति विवरण प्रस्तुत गरेका हुन्।
सरकारले आइसीयू बेड र भेन्टिलेटर थपिएको, प्लाज्मा थेरापी सफल भएको र सक्रिय केसहरु अनुमान गरिएभन्दा थोरै भएको कुरालाई प्रगति विवरणमा राखेको छ।
यस्ता छन् प्रगति:
संक्रमितहरुसँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरि प्रयोगशाला परीक्षणमा ल्याउने कार्यका लागि हरेक गाउँपालिकामा एक, नगरपालिकामा २, उपमहानगरपालिका ३ र महानगरपालिकामा ५ गरी प्रत्येक टिममा ३ जना रहनेगरी १ हजार ७५ टिम परिचालन गरिएको छ।
कोभिड १९ का लागि अस्पतालहरुलाई तयारी अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ।
देशभर दुई हजार ६ सय आईसीयू बेड र ९ सय भेन्टिलेटर रहेका छन्। कोभिड १९ उपचारका लागि २५० आईसीयू बेड र भेन्टिलेटर थपिएको छ। थप २४० आईसीयू बेड थप्नका लागि प्रक्रिया अगाडि बढाइएको छ।
कुल ३६ वटा अस्पतालहरु र ११५ कोभिड क्लिनिक सञ्चालन गरिएको छ।
गम्भीर विरामी उपचारको लागि प्लाज्मा थेरापी सुरु गरिएको छ। एक जनामा सफल उपचार भइसकेको छ।
अस्पताल, आइसोलेसनमा उपचारका लागि खर्चको मापदण्ड तयार गरिएको छ।
अस्पताल बाहेक आइसोलेसन केन्द्रहरुमा थप ७ हजार बेड स्थापना गर्न ७ वटै प्रदेशलाई दुई महिनाअघि नै रु ३८ करोड निकासा गरिएको छ।
कोभिड १९ को नेपालमा हुन सक्ने संक्रमणका लागि मन्त्रालयले इपी मोडलिङ तयार गरेको छ। जसअनुसार खराब अवस्थामा साउनको २५ गतेसम्म ९१ हजार सक्रिय केस हुनसक्ने र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार सक्रिय केसहरु हुनसक्ने अनुमान गरिएको छ। साउन २३ गतेसम्म जम्मा सक्रिय संक्रमित ६ हजार ३ सय ३० रहेका छन्। स्थानीय तह, प्रदेश र केन्द्र सरकार तथा सबै पक्षको अभूतपूर्व सहयोगले अनुमान गरिएभन्दा सक्रिय केसहरु सिमित राखिएको छ।
चार महिना (असार-असोज) का लागि हरेक हप्ताको कार्ययोजनासहितको द्रुत कार्य योजनाअनुसार काम भइरहेको छ।
गम्भीर प्रकृतिका १५ सय जनासम्मका विरामीको उपचारका लागि औषधि र आइसीयू सामग्री मौज्दातमा रहेको छ।
प्रयोगशाला सामग्री दुई महिनाका लागि र व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) करिब दुई महिनाका लागि पुग्नेगरी स्टक रहेको छ। साथै थप आवश्यकताका लागि खरिद प्रक्रियामा रहेको छ।
