PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ अपडेट : पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि, पाँच जनाको मृत्यु, कहाँ कति संक्रमण पुष्टि?



विधुर ढकाल

कोभिड-१९ अपडेट : पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि, पाँच जनाको मृत्यु, कहाँ कति संक्रमण पुष्टि?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४६४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, पाँच जनाको मृत्यु भएको छ भने मृत्यु भएका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका ३२ सरकारी र ६ वटा निजी प्रयोगशालाबाट सात हजार ९२६ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २७ जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी पर्साका १३८ र काठमाडौंका ९२ जना छन्।

काठमाडौं उपत्यकामा मात्र आज १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। संक्रमितमध्ये ललितपुरका १० र भक्तपुरका ४ जना रहेका छन्।

आज पुष्टि भएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।

त्यस्तै, आजै प्रदेश २ का पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये २ जना पाटन अस्पतालमा निधन भएको हो भने एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक जनाको गण्डक अस्पताल वीरगंज र एक जनाको घरमा नै मृत्यु भएको छ।

मृतकमध्ये पर्सा जिल्लाको वीरगंज ११ श्रीपुरका २ जना रहेका छन्। श्रीपुरका ७९ वर्षका पुरुषको २० गते घरमै मृत्यु भएकोमा स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।

त्यस्तै, श्रीपुरकै ५७ वर्षका पुरुषको गण्डक अस्पतालमा २२ गते निधन भएकोमा उनको पनि नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै, पर्साको वीरगंज ९ का ४५ वर्षका पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा २२ गते निधन भएको छ। त्यस्तै, सर्लाही बसन्तपुर १२ का ४५ वर्षका पुरुषको पनि पाटन अस्पतालमा मृत्यु भएको छ। उनको आज बिहान मृत्यु भएको हो।

त्यस्तै, सिराहा जिल्लाको गोलबजार १२ का २५ वर्षका पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित उपचार पछि निको भएका छन्। योसँगै उपचारपछि डिस्चार्ज हुने संक्रमितको संख्या १५ हजार ८१४ पुगेको छ।

कहाँ कति संक्रमण पुष्टि?

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा झापा र सुनसरीका १/१ जना रहेका छन्। कोशी अस्पतालमा मोरङका २९ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङकै ३५ र झापाका १ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराजमा सप्तरीका १९, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल प्रयोगशालामा बारा र रौतहटका ४/४ जना र पर्साका १३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सिन्धुपाल्चोकका १, ललितपुरका ३. काठमाडौंका १४, नुवाकोटका ८ र  सर्लाहीका ६ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पतालमा भक्तपुर, बारा, कैलाली, सर्लाही, पर्सा र तनहुँका २/२ जना तथा काठमाडौंका ३९, ललितपुरका ३ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ।

किटजन्य रोग अन्वेशण केन्द्र प्रयोगशाला हेटौँडामा बाराका २ जनामा संक्रमण देखिएको छ। पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका ५, धनुषाका १, भक्तपुरका १, ललितपुर २ र कास्कीका १ तथा वीर अस्पताल प्रयोगशालामा बाँके र बर्दियाका १/१ र काठमाडौं र बाराका ४/४ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा काठमाडौंकै १ तथा नेपाल प्रहरी अस्पतालमा पनि काठमाडौंकै ७ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ११ तथा ललितपुर पर्सा र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। विध ल्याब ललितपुरमा ललितपुरका १ र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ।

ह्याम्स अस्पताल प्रयोगशालामा काठमाडौंका ४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि हुँदा नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौं, भक्तपुर, स्याङ्जा र पर्साका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ तथा प्रादेशिक क्षयरोग उपचार केन्द्र प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका १ र कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १ र नवलपरासी पश्चिमका २ जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल प्रयोगशालामा बाँकेका २८ र बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतकै १ र कालिकोटका ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुरिया हेल्थ केयरमा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा कैलालीका १७ तथा अछाम र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये हाल ६६ जना आइसीयूमा उपचार भइरहेको छ। जसमध्ये ३ जना भेन्टिलेटरमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell