PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनी : स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्



पहिलोपोस्ट

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनी : स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्
फाइल फोटो।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्।

उनले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताए। उनले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गरे।

उनले भने, ‘यहाँ भित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु। कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रशय दिने काम तपाईहरुबाट भएछ भने तपाईहरुमाथि पनि म कारबाही गर्छु। मैले प्रस्ट ढंगले भनेको छु, किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो। त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावस्यक आर्थिक लेनदेन र चलखेलहरु भएभने त्यो नर्कको बाटो हुन्छ। यो स्वर्ग जाने बाटो हो, पशुपति भनेको।’

उनले पशुपति क्षेत्र भित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँडन अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिँडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे।

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिनाविकल्प बासस्थानबाट बेदखल नगर्ने स्पष्ट पारे। तर, कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने उनले बताए।

उनले भने, ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र संस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइदैन। त्यसमाथि थिचोमिचो गर्न पाइदैन। त्यसमाथि अतिक्रमण गर्न पाइदैन।’

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्डबिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताए।

उनले भने, ‘पशुपति क्षेत्र भित्र पनि बिनामापदण्ड, बिनासोच, बिनायोजना कुनै संरचनाहरु बनाइएका छन भने त्यस्ता संरचनाहरु पशुपतिको मापदण्ड अनुरुप नै ढालिनुपर्छ। तब मात्रै दुनियाँका मानिसहरुको लागि एउटा गन्तव्य स्थानको रुपमा जीवित रहने छ। यसमाथि मानव जातिले अनावस्यक ढंगले अतिक्रमण गरेको छ पशुपति माथि भने त्यो अतिक्रमण गर्न पाइदैन, त्यस्ता अतिक्रमणहरुलाई हटाइने छ।’

मन्त्री भट्टराईले पशुपति कुनै धर्म सम्पदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपति माथि आस्था विश्वास राख्ने विश्वभरका करोडौँ मानिसहरुको भएको बताए। राजनीतिक दाउपेचले नेपालका धार्मिक, सांस्कृतिक सम्पदाहरु लामो समयदेखि दोहन भएको र अहिलेको बलियो सरकारले त्यस्ता सम्पदाहरुको संरक्षण गर्ने उनले बताए।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना प्रस्ताव गरिएको बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell