काठमाडौं: सरकारले शुक्रवार चार देशबाट एक हजार भन्दा बढी नेपालीको उद्धार गरेर स्वदेश फर्काएको छ।
कोभिड १९ महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकलाई सुरक्षित साथ स्वदेश ल्याउने सिलसिलामा आज चार देशबाट एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किएको सरकारको कोभिड १९ विपद व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ।
सीसीएससीको तथ्यांकअनुसार साउदी अरबको दमामबाट १५४, रियादबाट २६१ जना नेपाल फर्किएका छन्। युएईको दुबईबाट एक शव र १५० जना, मलेसियाबाट १५६ जना, अष्ट्रेलियाबाट २९२ जना गरी एक हजार १३ जना र एक शव ल्याइएको छ। यो आज दिउँसो १ बजेसम्मको उडानको तथ्यांक हो। अपराह्नका दुबई, शार्जह र मलेसियाको तीन उडानको तथ्यांक भने आउन बाँकी छ।
स्वदेश फर्किएकाहरुलाई नेपाली सेनाको व्वस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ। होल्डिङ सेन्टरमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको सीसीएमसीले जनाएको छ।
तथ्यांकअनुसार बिहीवारसम्म ४४ हजार ७९९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। आजको तथ्यांकसँगै स्वदेश फर्किनेको संख्या ४६ हजार नाघेको छ।
