PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सवारी दुर्घटनाको भिआइपी कनेक्सन : घटना लुकाउने प्रहरीको योजना छैटौँ दिनमा भयो पर्दाफास



एम बम

सवारी दुर्घटनाको भिआइपी कनेक्सन : घटना लुकाउने प्रहरीको योजना छैटौँ दिनमा भयो पर्दाफास

कैलाली : गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा १ झ ९२५० नम्बरको गाडीले कैलालीमा एक मोटरसाइकललाई ठक्कर दियो।

पूर्व-पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका-६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिद्ध जयगढी गम्भीर घाइते भए। बर्दगोरिया गाउँपालिका-४ घर भएका जयगढी धनगढीतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो।

गम्भीर घाइते उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अहिले नेपालगञ्जमा उपचार जारी छ। दुर्घटनालगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर गाडीमा सवार सबै फरार भए। ट्राफिक प्रहरीले उक्त गाडी नियन्त्रणमा लियो।

तर, घटनास्थल नजिक कसैलाई पनि जान दिइएन। बरु उल्टै गाडीको नम्बर प्लेट प्रहरीले नै हिलोले छोपिदिएको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार उक्त गाडीमा ५ जना सवार थिए।

प्रहरीले किन घटना जोगाउन खोज्यो भन्नेतर्फ सबैको चासो बढेको छ। घटना सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापासम्म जोडिएको छ। 

प्रशासनको उक्त गाडी सभामुख थापाका छोरा देवेन्द्र थापाले चलाएको खुल्न आएको छ। सहायक सिडिओसहितको टोलीमा आफूसहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा, जगत विष्ट र सुरेश जोशी सवार रहेको सार्कीको भनाइ छ। सहायक सिडिओ सार्कीले आफू पायल्सको बिरामी रहेकोले उपचारका लागि लम्की जाँदै गरेको जानकारी दिए।

तर, गाडी चालकका विषयमा भने उनको कुरा बाँझिएको छ। उनले चालक बिदामा रहेका बताएका छन्, भने फेरि गाडी चालकले नै चलाएको र उनी एक दिन थुनामा बसेर समेत फर्किएको दोहरो प्रतिक्रिया दिएका छन्। स्रोतका अनुसार चालकलाई घटनापछि बोलाएर हिरासतमा राखिएको  खुल्न आएको छ।

गाडी कसले चलाएको थियो भन्ने सवालमा उनले चालक जनक ऐरले नै चलाएको दावी गरेका छन्। तर, उक्त दिन ऐर बिदामा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित आफ्नो घरमा रहेको खुलेको छ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला प्रशासन कार्यालयले बेहोर्ने सहमति भएको बताए। गाडी कसले चलाएको थियो भन्ने विषयमा भने उनले उक्त दिन डिएसपीले नै घटनाका विषयमा बुझेको भन्दै आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

‘घटनाका विषयमा थप बुझ्नु पर्ने भए लम्कीकै प्रहरीसँग सम्पर्क गर्नुस्, नभए पीडितलाई पनि थाहा होला, दुवै पक्षको सहमति त्यतिकै त भएन होला?’ उनले भने।

कैलालीका डीएसपी तथा प्रहरी प्रवक्ता प्रतीक विष्ट बिरामी भएर बिदामा रहेकाले फोन आफूले उठाएको थापाको भनाई छ।

उता इलाका प्रहरी कार्यालय लम्किचुहाले भने उक्त घटनाका विषयमा कुनै कुरा बोल्न चाहेन। आफूलाई बोल्ने अधिकार नभएको भन्दै सबै जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएको र डिएसपीले नै जानकारी दिने उनले प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell