काठमाडौं : नेपालमा अल्ट्रारेसका खेलाडीहरू बारे पनि चर्चा हुन थालेको छ। ती खेलाडीमध्ये धेरैले चिनेको वा नाम सुनेको पात्र हुन् मीरा राई। उनको लगातारको सफलता नेपालमा मात्र नभइ विश्वमै चर्चाको विषय बन्यो।
अल्ट्रारेसमा मीराभन्दा अघि को-को खेलाडी थिए त?
सुन्नु पर्ने संख्याले नसुनेको नाम हो भीम गुरुङ। जो १७ वर्षदेखि अल्ट्रा रेस दौडी रहेका छन्। गोरखाको थुमीमा जन्मिएका उनी दौडिएरै यूरोपेली मुलुकहरूमा चिनिएका छन्। यूरोपका अन्य धावकहरूले उनलाई प्रमुख प्रतिस्पर्धीका रुपमा चिन्छन्। ती धावकहरूको थुप्रै कीर्तिमान ब्रेक गरिदिएका छन् यी नेपाली धावकले।
अल्ट्रा रेस, स्काइ रेस, ट्रेल रेसमा उनको रुची छ। त्यही रुचीमा लगनशिलताको नतिजा मान्न सकिन्छ – उनका घरमा छरपस्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय मेडल र प्रमाणपत्र। जसलाई मिलाएर राख्न वा सजाउन अब त ठाउँ नै खाली छैनन्। उसो त उनीसँग फूर्सद पनि कहाँ छ र?
दौडिनकै लागि कहिले हिमालका फेदीतिर पुगेका हुन्छन् त कहिले चीन, युरोप या संसारको अन्य कुनै कुनामा पुग्छन्।
सन् २०१७ मा भीमले नर्थपोल पुगे, दौडनकै लागि। त्यो अवसर दुर्लभ थियो। धेरैका लागि कल्पना बाहिरको अवसर। त्यहाँको दौडमा उनले दोस्रो स्थान हात पारे।
त्यही स्थानले दिलाएको मेडल देखाउँछन्। गम्भीर हुन्छन् र भन्छन्,'यो मेरो जीवनको दुर्लभ उपलब्धि हो। र, नोस्टाल्जिक हुन्छन्। सुनाउँछन् ५ महिना रातैरात, ६ महिना दिनैदिन हुने ठाउँमा पुग्दाको अनुभव : एकदमै कम नेपाली पुगेको ठाउँ हो त्यो। नर्थपोलको मिडियम भागमा भएको थियो नर्थपोल म्याराथन। तापक्रम पनि -४० डिग्री भन्दा कम। स्पोन्सर मिलेकाले त्यहाँ जान पाएँ। कुनै मेडल नजितेको भए पनि मेरा लागि त्यहाँ पुग्नु उपलब्धि नै हो।
एकै पटकमा ५ वटा उनीको टोपी अनि ६ वटा ज्याकेट लगाउँदाको क्षण, जाडो छल्न ३ वटा ट्राउजर एकै पटक लगाउनु पर्ने अवस्था सम्झन्छन् उनी।
'अति नै चिसो हुन्थ्यो,' केही ठट्यौली शैलीमा भने, 'दौडँदा पसिना आउँथ्यो तर जमेर आइस हुन्थ्यो। चिसोले सिगान त झर्थ्यो तर झर्दाझर्दै एक इन्च पनि तल नपुगी जम्थ्यो।'
आँखाको चश्मामा मुखबाट निस्किएको बाफ पुगेर जमेको, सबैभन्दा बाहिर लगाएको टोपी जमेर भाँचिएको कुरा कथा जसरी सुनाउँछन्। अनुभवहरू सुनाउँदै गर्दा रोमाञ्चित हुन्छन् उनी।
+++
गोरखाको सामान्य परिवारमा जन्मेका उनको सपना थियो – लाहुरे बन्ने। त्यसैले तन्दरुस्त बन्न सानैदेखि दौडिए। स्कूलमा हुने दौड प्रतियोगिताहरूले पनि थप उर्जा थप्थ्यो उनमा। उनी दौडँदा गाउँघरका मानिस भन्थे - 'लाहुरको तयारी गर्दैछ केटो।' उनी पनि दङ्ग पर्थे। किनकि गुरुङ समूदायमा लाहुरे हुनु भनेको बेग्लै शानको विषय थियो।
भीमले इन्डियन र ब्रिटिस दुवै सेनामा भर्ती हुने कोसिस नगरेका होइनन्। तर, उनलाई त नर्थपोलले पर्खिरहेको रहेछन। लाहुरका लागि छानिएनन्।
तर, दौडन छाडेनन्। आयोना हुने रिले, १०० मिटर दौडमा सहभागिता जनाउन थाले। हाइजम्प र भलिबलमा उस्तै चासो राखे। खेले।
२०५८ सालमा हो, उनले आर्मी बन्ने सपना पूरा गरेका। विदेशको होइन, नेपालकै। नेपाल आर्मीमा पनि गुरुङ खेलकुद विभाग तिरै लागे।
'सुरुवातमा एथ्लेटिक्स ५ अनि १० किलोमिटर हुनेरहेछ। म्याराथन हुन्थ्यो त्यो बेलामा। त्यसमा मैले खेल्ने अवसर पाएँ,' उनी भन्छन्, 'त्यहाँ जित्दै गएपछी मैले ठूलाठूला गेमहरु खेल्ने अवसर पाएँ। त्यतिबेला धेरै मेहेनत गर्ने भएर होला पहिलो, दोस्रो हुन्थें।'
उनले खेलेको पहिलो ठूलो प्रतियोगिता पोखरा अन्नपूर्ण रहेछ। त्यहाँ उनले ७० किलोमिटरको विधामा खेलेका रहेछन्। त्यहाँ उनी दोस्रो भए। त्यसपछि अन्नपूर्ण नियमित नै भइहाल्यो। एभरेस्ट म्यारथन पनि दौडने मौका पाए। एभरेस्ट म्याराथनमा पहिलो वर्ष दोस्रो स्थानमा रहेको उनी दोस्रो वर्षमा पहिलो भए। सन् २०१३ मा।
त्यसपछिका संस्करणहरुमा प्राय उनी पहिलो नै हुँदै आएका छन्। केही संस्करणमा पछि पर्नुको दु:ख छैन उनलाई। बिस्तारै उनको पाइला विदेशतिर मोडियो। उनको करियरले उडान भर्यो।
बिस्तारै नेपाल आर्मीमा बाहिरिए उनी। जसका कारण आन्तरिक अस्वस्थ प्रतिस्पर्धा र खुट्टा तान्ने प्रवृति भएको बताउँछन् उनी। आर्मीबाटै अल्ट्रा रेसमा आफूले मारेको छलाङ भने बिर्सदैनन् भीम।
फ्ल्याटमा दौडने उनलाई बिस्तारै उकालो ओरालोमा कुद्ने बानी लागेको हो। करियरको आरोह अवरोहलाई पनि त्यस्तैगरी स्वीकार्छन् उनी। 'सबैकुरा बिस्तारै बानी पर्ने हो। ट्रेलमा पनि मलाई त्यसैगरी बानी लाग्यो।'
सुरुमा उनले पोखरा अन्नपूर्णमा ७० किलोमिटर दौडिए। दौडिँदा दौडिँदै ट्रेलको बानी लाग्यो उनलाई। थाहा पाए - थाइ पावर भएकाले ट्रेल जान सक्दो रहेछ भन्ने भयो। यसैमा चासो बढ्दै गयो।
राष्ट्रिय अन्तर्राष्ट्रिय १ सयभन्दा बढी गोल्ड मेडल जीतेका छन्। 'स्काइ रनिङमा'का च्याम्पियन हुन्। बुझाउँछन्, 'स्काइ रनिङ र ट्रेल भनेको चाहीँ उही हो। स्काइ रनिङ नाम हो एसोसिएसनको। गोल्डन ट्रेल भन्ने पनि नाम हो। स्काइ रनिङ भनेको जस्तो डाँडाकाँडा भीरपाखा दौडने हिमालको छेउ तिर पुग्नेलाई नै स्काइ रनिङ भन्ने गरेको छ।'
उनले खेलेका खेल र जितेका उपाधिको लिस्ट यति लामो छ कि बोल्दाबोल्दै उनी आफै अलमलिन्छन् कहिलेकाहीँ। एउटा सन्दर्भ नसकिँदै त्यो भन्दा रोचक प्रसङ्ग झसङ्ग सम्झिन्छन्। र, उत्साहीत हुन्छन्। सुनाउन थाल्छन्।
+++
दौडी रहनु पर्ने उनलाई लकडाउन कष्टकर रह्यो। घरबाट बाहिर निस्कन नपाएकै कारण। लकडाउन सुरु भएको १ महिनासम्म त चुपचाप घरमै बसे। त्यस पछि आफैलाई सम्हाल्न सकेनन्। डाँडाकाँडा दौडन निस्किहाले।
'न दौड न ट्रेनिङ। निस्सासिएजस्तै भयो', सुनाउँछन्,'यो खाली अवधि नेपालमा ट्रेल रेसको अवस्था बारे सोच्ने मौका चाहिं बन्यो।'
ट्रेल रेस सरकारको प्राथमिकतामा नपरेको देख्दा दु:खी रहेछन् उनी। नेपालमा फ्ल्याटलाई मात्रै प्राथमिकता दिइनु चित्त बुझेको रहेनछ।
युरोपमा भने थुप्रै ट्रेल गेम नै जितिसकेका छन्। 'नेपालमा त यो खेललाई नै महत्व दिइँदैन। राम्रो खेलाडीलाई पनि उचित व्यवाहार गर्दैनन्। त्यो भएर मलाई दु:ख लाग्छ।'
विदेशबाटै खेल्ने अवसर पनि नपाएका होइनन्। तर, उनी नेपालकै लागि वा नेपालकै नाममा दौडनुमा खुशी छन्।
'युरोप पुगेर नेपालका लागि खेल्न पाएको छु। तर नेपालमा चाहिं बिरलैले म बारे बुझ्न खोजेका होलान्', उनले भने।
युरोपमा क्लिन जोर्नेट जस्ता खेलाडीको रेकर्ड तोडेका छन् उनले।
नेपालको खेलाडीलाई ट्रेलमा शारिरीक बनावटले निकै साथ दिएको उनको बुझाइ छ।
'देशमा उकालो ओरालो हिँडिरहेको बानी हुन्छ। शरीर सोही अनुरुप बन्छ। त्यसले पनि साथ चाहिं दिएको हो', उनी आफ्नो तर्क राख्छन्।
+++
इटलीको किमा इटालियामा भीम गुरुङ प्रथम भए। जीते - कलात्मक घन्टी। पेटीसहितको घन्टीलाई उचाल्दै उनी मुस्कुराए। अनि सुनाए रोचक प्रसङ्ग।
उक्त पुरस्कार जीते लगत्तै इटलीमा उनलाई विभिन्न प्रस्तावहरू आए – पुरस्कार स्वरुप पाएको त्यो घन्टी बेच्ने। १३ सयदेखि २ हजार/२५ सय युरोको प्रस्ताव थियो उनलाई। तर, बेच्न तयार भएनन्। किनकि जीतको प्रमाण नेपाल ल्याउन चाहन्थे उनी।
कारण बस् उनले पुरस्कार आफूसँग बोक्न नमिल्ने परिस्थिति बन्यो। आफूभन्दा पछि फर्कने साथीलाई नेपालसम्म ल्याइदिन आग्रह गरे।
साथी राजी पनि भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुगेको पनि हो उनको त्यो पुरस्कार। तर, विमानस्थलमा खटेका कर्मचारी र प्रहरीले त्यसलाई बाहिर ल्याउन दिएनछन्। त्यस समय भीम स्वयं विमानस्थल पुगेर झगडा गर्नुपर्ने अवस्था आएछ।
'यो मैले दौडेर जितेको गोल्ड मेडल हो। तपाईं दौडेर गोल्ड जित्न सक्नु हुन्छ?' गुरुङले विमानस्थलमा गएर प्रश्न तेर्साए। र पुरस्कार लिएर आए।
त्यस्तै अर्को नमिठो अनुभव छ गुरुङको। युकेमा एकपटक दौडँदा ५ किलोमिटर जति रेस बाँकी थियो। एक्कासी उनलाई असहज महसुस हुन थाल्यो। केहीबेरमा त उनी बाटोमै ढले।
१०/१५ मिनेटमा ड्रोन आयो। त्यसपछि उनी बिउँझिए। आयोजकले त उनी रहेनन् भन्ने विश्लेषण गरेको रहेछ। उनी भने ड्रोन देखे लगत्तै उठेर दौडन थाले। समय गुमाए तर प्रतिस्पर्धामा स्थान नगुमाउने अठोट बोके। पछि उक्त रेसमा उनी चौथो भए।
मीठा अतित सम्झँदै गर्दा भविष्यका योजना बारे पनि बिस्तार गरे उनले। अझै ५ वर्ष मज्जाले दौडन सक्छु भन्ने आत्मविश्वास छ उनमा। र, ट्रेल रेसका लागि नयाँ पुस्ता पनि तयार भएकाले पाँच वर्ष पछिको बारेमा ढुक्क र सन्तुष्ट छन् उनी।
'यसमा धेरै चासो राख्ने भाइबहिनीहरु छन्। उनीहरु आइरहन्छन्। मीरा दिदी भन्छन्। भीम दाई भन्छन्। हामीले यसरी दौडनु पर्छ है तिमीहरुले यसरी यस्तो गर्नुपर्छ भन्छौं,' उनले भने, 'उनीहरू हाम्रो चाहीँ फलो चाहीँ गरिरहेका छन्। तर त्यति धेरै ट्रेनिङ नपाउनुका बावजुद् पनि राम्रै छन्।'