PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

त्रासकाबीच वीरगंजमा सुखद खबर : दुई डाक्टरसहित ८ जना डिस्चार्ज



राधेश्याम पटेल

त्रासकाबीच वीरगंजमा सुखद खबर : दुई डाक्टरसहित ८ जना डिस्चार्ज

वीरगंज : साउन यता वीरगंजमा समुदायस्तरमा फैलिएको कोभिड-१९ महामारीको कारण दैनिक केही जनाको मृत्यु हुन थालेको छ भने कोभिड-१९ महामारीको वीरगंजमा त्रास ब्यापक बढेको छ।

यही बेला सुखद खबर पनि आएको छ। कडा लक्षण मानिएको कोभिड-१९ संक्रमितहरु निको भएर घर फर्किन थालेको पनि चिकित्सकहरुले बताएका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार गएराति ७ बजे दुई चिकित्सकसहित पर्सा, बाराका गरी ८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

नारायणी अस्पतालका ४५ वर्षीय फिजिसियन डाक्टर आरके(रामकिशोर) सिंह र ४० वर्षिय अर्थोपेडिक डाक्टर दिलिप चौरसिया निको भएर डिस्चार्ज भएको उनले जानकारी गराए। ‘हामीलाई निकै खुशी लागेको छ,’ उनले भने, ‘उनले संक्रमितहरु मनोबल उच्च राखे भने सिभियर मानिएको कोभिड-१९ सँग जित्न अवश्य सकिन्छ।’ दुई चिकित्सकमध्ये डाक्टर दिलिप चौरसिया मृत्युको मुखबाट जोगिएको बताएका छन्। 'सबैको आर्शीवाद र मायाप्रेमले म निको भएर घर फर्केको छु, खुशी लागेको छ,अन्यलाई पनि मेरो शुभकामना छ,' उनले भने।

८ जनामा बारा, जितपुरका ३५ वर्षीया प्रतिमा देवी, २० वर्षीय दिपक सहनी, कलैया मोतिहरका २२ वर्षीय राजिव गुप्ता, वीरगंज १३ श्रीपुरका ३० वर्षीय विशाल रेग्मी मगर, वीरगंज ६ रेशम कोठीका २३ वर्षीय आयुष अग्रवाल, बहुदरमाई नगरपालिका ७ पर्साका ३३ वर्षीय अवधेश यादव रहेका छन्। ८ जनामा ६ जनामा कडा खाले लक्षणसहितको कोभिड-१९ भाइरसको संक्रमण थियो। वीरगंजमा कोभिड-१९ संक्रमणबाट चैतदेखि हालसम्म २० जनाको मृत्यु भइसकेको छ।

जसमध्ये साउन १ गतेदेखि साउन २३ गतेसम्म १६ जनाको मृत्यु भएको छ भने पर्सामा मात्र हालसम्म ९४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकोमा १९४ जना निको भएका छन्। पर्सामा अहिले पनि ७३५ एक्टिभ केस रहेको छ। जसमध्ये गण्डक कोभिड अस्प्तलामा ३६ पुरुष र १३ महिला गरी ४९ जना संक्रमित उपचाररत रहेका छन् भने ७ जना शंकास्पद विरामी रहेका छन्। जसमध्ये ५ जना आईसियुमा छन्। त्यसैगरी, वीरगंज हेल्थकेयरमा ६७ पुरुष, ११ महिला गरी ९८ जना उपचाररत रहेका छन्।

ती मध्ये १६ जना आइसीयुमा रहेका छन्। वीरगंज महानगरभित्रको विभिन्न क्वारेन्टाइनमा १४८ जना र होम आइसोलेसनमा ३०६ जना गरी कुल ७३५ संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। संक्रमितमध्ये ६० प्रतिशतमा कोभिड-१९ को लक्षण जस्तै सय डिग्रीभन्दा बढि ज्वरो आउने, सुक्खा खोकी, रुघा, श्वासप्रश्वासमा समस्यालगायतको समस्या रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell