PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अस्पताल चहार्दा चहार्दै वीरगंजमा एक महिलाले त्यागिन् प्राण



राधेश्याम पटेल

अस्पताल चहार्दा चहार्दै वीरगंजमा एक महिलाले त्यागिन् प्राण

वीरगंज : वीरगंजमा शनिवार एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-१३ राधेमाईकी ६२ वर्षीया महिला रहेकी छन्।

दम र मुटुको रोगबाट पीडित ती महिलाको बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार वीरगंजको विभिन्न अस्पताल चहार्दा चहार्दै अवस्था बिग्रेपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको बाटोमै मृत्यु भइसकेको थियो।

‘ती महिलाको बाटोमै मृत्यु भइसकेपछि नारायणीमा ल्याइएको थियो’, उनले भने।

उनको शव नारायणी अस्पतालमा राखेर स्वाब संकलन गरिएको छ। शनिवार राति रिपोर्ट आउने डा उपाध्यायले बताए।

त्यस्तै, शनिवार बिहानै २ बजे गण्डक अस्पतालमा मृत्यु भएकी वीरगंज २ छपकैयाकी २० वर्षीया महिलाको कोरोना रिपोर्ट आजै राति आउने जनाइएको छ।

यसैबीच, वीरगंजको अलौस्थित एकीकृत जाँच चौकी (आइसीपी भन्सार) परिसरमा गाडीको ठक्करले एक जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत, बारह बनकी जिल्ला पिपरिया बस्ने २९ वर्षीय रामअचल कास्य रहेको प्रहरीले जनाएको छ।

एपी ४७६० नम्बरको गाडीका सहचालक कास्य गाडीको तल सुतिरहेको अवस्थामा गाडी गुडकिएपछि किचिएर उनको मृत्यु भएको हो। आन्ध्र प्रदेशबाट तीन दिनअघि गाडी सामान बोकेर नेपाल आएको थियो।

प्रहरीका अनुसार भारतबाट आएका अन्य गाडीका चालकहरु र सहचालकहरु आइसीपीमा गाडीको मुनी सुत्ने गरेकोले यस्तो घटना भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराइन्। उनको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell