काठमाडौं: आजदेखि उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएका छन्।
काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द हुने भएको हो। शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।' हामीले दिने सेवाहरु मात्र बन्द गर्ने निर्णय भएको हो। त्यसमा आवश्यकता हेरेर काम हुन्छ।' काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।
पछिल्लो समय उपत्यकाभित्र संक्रमितको सङ्ख्या थपिँदै गएपछि यस्तो निर्णय गरिएको हो। त्यस्तै भिडभाड र सार्वजनिक ठाउँमा जाँदा मास्क नलगाउनेलाई थप कडाईका साथ कारबाही गर्न निर्देशन दिने समेत निर्णय गरेको छ।
काठमाडौं उपत्यकाभित्र संक्रमितको सङ्ख्या हेरेर विभिन्न ठाउँमा सिल समेत गरिएको छ। न्यूरोड, टेकु लगायतका केही क्षेत्रमा सिल गरिएको हो।
