PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजमा थपिए ७५ कोरोना संक्रमित, दूतावासका कर्मचारीदेखि महानगरका सामाजिक विकास महाशाखा प्रमुखसम्म



राधेश्याम पटेल

वीरगंजमा थपिए ७५ कोरोना संक्रमित, दूतावासका कर्मचारीदेखि महानगरका सामाजिक विकास महाशाखा प्रमुखसम्म

वीरगंज : वीरगंजमा शनिवार राति थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ जना महिला र ६० जना पुरुषमा संक्रमण देखिएको हो। नारायणी अस्पताल ल्याबका अनुसार संक्रमित हुनेमा १२ वर्षीय बालकदेखि ६८ वर्षको वृद्ध समेत रहेका छन्। जसमध्ये पर्सा र वीरगंजमा बस्ने ७० जना रहेका छन् भने बाँकी ५ जना बारा, सर्लाही र एकजना भारतीय नागरिक हुन्।

भारतीय नागरिक भनिएका ३५ वर्षीय पुरुष वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी हुन्। त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नं ६ का ३३ वर्षीय पुरुष, फेटा ६ का २२ वर्षीय पुरुष र परवानीपुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साका ७० जनामा वीरगंज महानगरका सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी नारायणी अस्पतालका दुई जना स्वास्थ्यकर्मी, बेल्वा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, पकहामैनपुर गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी गरी करिब आधादर्जन स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

वीरगंज महानगरका दुई जना वारुण यन्त्रकर्मीमा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

वीरगंजको छपकैया, विर्ता, आर्दशनगर, श्रीपुर, राधेमाई, रामगढवा, सवैठवा, मिथलानगर, रेशमकोठी, गणेशटोललगायत वडामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साका ७० जनामा एक जना वीरगंज २ छपकैयाकी २० वर्षिया महिलामा संक्रमण देखिएको हो। उनको उपचारको क्रममा गण्डक कोभिड अस्पतालमा शुक्रवार राति २ बजे मृत्यु भएको थियो।

संक्रमितमध्ये ८ जना जिल्ला प्रहरी कार्यालय पर्साबाट स्वाब संकलन गराएका सुरक्षाकर्मी हुन् र एकको पहिचान खुल्न नसकेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। वीरगंज बाहेक अमरपटिका ३ जना, पकहामैनपुरका २ जना, बहुदरमाईका १ जना, पर्सागढिका ३ जना, पटेर्वासुगौलीका १ जना, जिराभवानी गापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएका छन्।

पर्सामा हालसम्म १ हजार १५ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। साउन यता १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell