काठमाडौं : काठमाडौंको गोंगबु गणेशस्थान नजिकै टाउको काटिएको शव फेला परेको छ। हालसम्म शवको सनाखत हुन सकेको छैन।
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ। टाउको काटेर शव राखिएको अवस्थामा कालो रंगको सुटकेस फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। 'हामीलाई शंकास्पद झोला भेटियो भन्ने जानकारी आएको थियो। पुगेर हेर्दा कालो सुटकेसमा टाउको काटिएको शव भेटियो', एसएसपी थापाले भने।
शव भेटिएपछि प्रहरी तालिम प्राप्त कुकुर समेत परिचान गरियो। कुकुरले शव सुँघेपछि करिव तीन सय मिटर पर पुगेको थियो। त्यहाँ पुगेर हेर्दा अर्को शंकास्पद झोला फेला पर्यो। झोलामा काँटिएको टाउको र खुट्टा थियो।'कुकुरले संकेत गरेको झोला हेर्दा टाउँको र खुट्टा भेटियो। जुन पहिले भेटिएको शवको टाउको र खुट्टा हो', एसएसपी थापाले भने।
प्रहरीको प्रारभ्भिक अनुसन्धानमा कसैले हत्या गरि फालिएको देखिएको छ। तर कसले र किन? भन्ने खुल्न सकेको छैन। अन्दाजी ४० वर्षीय पुरुषको शव भएको खुलेको छ। कसैले हत्या गरेर फालेको देखिएको हो।
'यो हत्या नै हो। तर कसले किन गर्यो भन्ने केही समयमा पत्ता लगाउँछौं', एसएसपी थापाले भने। घटनाको प्रारम्भिक अनुसन्धानमा अरु नै ठाउँमा हत्या गरेर फ्याँलिएको देखिन्छ।