काठमाडौं : काठमाडौंको गोंगबु गणेशस्थान नजिकै शंकास्पद सुटकेस फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुग्यो। सडकमा रगत समेत देखिएकाले स्थानियबासी भेला भइसकेका थिए। सडक छेउमा कालो सुटकेस थियो।
प्रहरी पुगेर सुटकेस खोलेर हेर्दा एउटा विभत्स शव फेला पर्यो। टाउको विनाको शव सुटकेसभित्र थियो। घटना हत्या भएको जानकारी पाएपछि थप प्रहरी घटनास्थल पुगे। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली र महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा समेत घटनास्थल पुगे।
विभिन्न अनुसन्धान टोली बोलाइयो। नेपाल प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जबाट अनुसन्धानको लागि तालिम प्राप्त कुकुर ल्याइयो। कुकुरले सुँघेर केहि पर गयो। एउटा झोलालाई संकेत गर्यो। प्रहरीले झोला खोलेर हेर्यो। अर्को विभत्स दृष्यः टाउको र खुट्टा झोलामा थियो।
प्रहरीले शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।