काठमाडौः आइतवारको कान्तिपुर दैनिकमा प्रकाशित अर्गानिक नेपाल नामक संस्थाको विज्ञापन विवादित बनेको छ। ११ नम्बर पेजमा प्रकाशित विज्ञापनको आवेदन दस्तुरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आवेदनकर्ताले प्रश्न उठाएका हुन्।
संस्थाले विभिन्न पदमा १०५४ जनाका लागि आवेदन आह्वान गरेको छ। तर, आवेदन दस्तुर एक हजार रुपैयाँ राखिएको छ। यदि आवेदन अनुसार नै पदपूर्ति भए छनौट हुने १०५४ जनाबाट मात्र १० लाख ५४ हजार त स्वत: उठ्छ।
आवेदन त एक हजारले मात्रैले नदेलान? कोरोना महामारी र लकडाउनको समय छ। धेरैको रोजगारी गुमेको यस्तो बेला हजारौले आवेदन दिन सक्छन्। संस्थाले लाखौ रुपैयाँ आवेदनबाटै असुल्न सक्छ।
संस्थाले अर्गानिक कृषि उद्यम गर्न, कृषि क्षेत्रमा आउन युवाहरुलाई उत्प्रेरित गर्न र कृषकहरुलाई सहयोग गर्न आफ्नै गाउँघरमा बसेर स्थायी रुपमा काम गर्न इच्छुक योग्य व्यक्तिहरु आवश्यक रहेको भन्दै भदौ २० गतेसम्म आवेदन भर्ने समय दिएको छ।
आवेदन दस्तुर भने संस्थाको एचआर हायरिङ पार्टनर ज्ञानमार्ग प्रशिक्षण प्रालिको खाता रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा जम्मा गर्न भनिएको छ। विज्ञापन प्रकाशन भएपछि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा शंकाको दृष्टिमा चौतर्फी प्रश्न उठेको छ। धेरैले ठगी गर्न खोजेको भन्दै सचेत रहन आह्वान गरेका छन्।
ठगी हुन सक्ने शंकासहित गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले पनि चासो देखाएको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यसको आधिकारिकता बुझ्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई निर्देशन दिइसकेको छ। ‘गुनासो मेट्रोमा पठाइसकिएको छ। आधिकारिता बुझ्न अनुसन्धान गर्छ,’ एसएसपी कडायतले भने।
संस्था भन्छ: १२ सयलाई रोजगारी दिएको नदेख्ने, पैसा मात्रै हेर्ने
विज्ञापनमाथि प्रश्न उठेपछि अर्गानिक नेपाल संस्थाले बेरोजगार नेपाली नागरिकलाई रोजगारी दिन खोज्दा निरुत्साहित पार्न खोजेको भन्दै आफ्नो बचाउ गरिरहेको छ। संस्थाका प्रतिनिधि माधव शर्माले १२ सय मान्छेलाई रोजगारी गरेको नदेखेको भन्दै गुनासो गरे। ‘हामीले एक हजार सुरुमै लिने होइन। अन्तर्वार्ता दिन आयो भने बैंक खातामा जम्मा गर्ने हो। आवेदन दस्तुर उठाएर हामी भाग्छौं भन्ने हिसाबले प्रचार भइरहेको छ। कहाँ भाग्छौं? सरकारी बैंक हुन्छ। प्रालिको खातामा जम्मा हुन्छ। ठगी गर्यौं भने बैंक वा प्रहरीमा उजुरी दिए पुग्छ,’ उनले भने, ‘१२ सय मान्छेलाई रोजगारी देख्दैनन्। पैसाको मात्रै चर्चा भयो।’
आवेदन दस्तुर महंगो भयो नी भन्ने प्रश्नमा उनले भने, ‘पाँच सय र ७ सय लिनुभन्दा एभरेजमा हजार लिँदा ठीक होला भन्ने लाग्यो। त्यो पैसा अन्तर्वार्तामा आउँदा दिने हो।’
आवदेनमा धेरै मान्छे माग्दा एक हजार मागेर १० लाख खान्छ भन्ने हल्ला भएको तर १२ सयलाई जागिर दिने हल्ला नभएकोमा शर्माले गुनासो गरे। उनले अनुसन्धानका सम्बन्धमा प्रहरीबाट हालसम्म कुनै खबर नआएको पनि बताए।