गाईघाटः विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तर्गत जलजलेमा रहेको सवस्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपूर्तिमा समस्या भएका हो। सव सवस्टेसनको ईनकमरमा मुसा पसेर विद्युत सर्ट हुँदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ।
प्राधिकरण उदयपुरका इन्जिनियर सन्जिव कर्णले मुसाको कारण विद्युत अवरुद्ध भएको बताए। ‘शनिबार सवा सात बजेतिर गाईघाट फिडरमा सर्ट भएर चार जिल्ला मा विद्युत अवरुद्ध भएको छ। कारण खोज्दा मुसा पसेर सर्ट भएको रहेछ,’ उनले भने। सर्ट भएर सवस्टेसनमा आगो लागेपछि प्राविधिकहरुले राती साढे १२ बजे उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत सप्लाई गरेको उनले बताए।
जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत अवरुद्ध हुने जनाइएको छ। जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फकोलाई मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोशन सिंहले बताए।
सिमेन्ट उद्योगको लाइन काटेर भए पनि रातीदेखि गाईघाटमा विद्युत आपूर्ति नियमित गरिएको छ। मर्मत पूरा नहुन्जेल सम्म जलजले र मुकुर्चीको विद्युत सुचारु हुन पर्खनु पर्नेछ। खोटाङतर्फ गएको ३३ केभिए लाइनसमेत केही समय उदयपुर लगायत, खोटाङ, ओखलढुंगा र सोलु जिल्लामा विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ।
