PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

२७ प्रतिशत भन्दा बढी नेपालीले मास्क नै लगाउन जान्दैनन्, जनस्वास्थ्यको मापदण्ड पालना भएन : स्वास्थ्य अनुसन्धान परिषद्



पहिलोपोस्ट

२७ प्रतिशत भन्दा बढी नेपालीले मास्क नै लगाउन जान्दैनन्, जनस्वास्थ्यको मापदण्ड पालना भएन : स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौं: सरकारले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड पालना नभएको बताएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले मापदण्ड पालना नभएको देखाएको हो। परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले काठमाडौंका २३ वटा सार्वजनिक स्थलमा गरिएको अवलोकनमा मापदण्ड पालना नभएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले ४५ सय २ जनामा अध्ययन गर्दा ७२.१ प्रतिशतले मात्रै मास्क लगाएको बताए। यस्तै कपडाको मास्क लगाउने १५. ८ प्रतिशत छ भने २७ सय ३ जना मध्ये ७२. ६६ प्रतिशतले मात्रै सहि तरिकाले मास्क लगाएको भेटिएको छ। यस्तै २७.३४ प्रतिशतले राम्ररी मास्क नलगाएको पाइएको हो। '२७.३४ प्रतिशतले चिउडोमा, घाँटीमा लगाउँदा तथा नाक मुख नछोपिने गरी लगाएको भेटिएको छ,' उनले भने।

२ मिटरको  सामाजिक दुरी ३१.२ प्रतिशत ठाउँमा मात्रै पालना गरिएको भेटिएको छ। ६० प्रतिशत सार्वजनिक स्थलमा मात्रै साबुन पानीको ब्यवस्था गरिएको देखिएको छ। अस्पतालको चमेना गृहमा भने सामाजिका दुरी पालना नै नगरिएको ज्ञवालीले बताए।

२० प्रतिशत अस्पतालमा मात्रै सामाजिक दुरी कायम भएको तथा ५० प्रतिशत भन्दा कम सार्वजनिक सवारीमा मात्रै एक सिटमा एक जना बस्ने ब्यवस्था गरिएको पाइएको छ। उनले जनस्वास्थ्यका मापदण्ड पालना नभएको बताए। 'जनस्वास्थ्यका मापदण्ड जनमानसमा प्रभावकारी पालन भएको पाइएन,'उनले भने।

जनस्वास्थ्यसँग सम्बन्धित अवधारणा पत्रका आधारमा परिषद्ले अध्ययन गरेको थियो। जनस्वास्थ्य मापदण्ड सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोगका विषयमा अनुसन्धान गरिएको हो।

ब्यक्तिगत र संस्थागत तहमा अध्ययन गरिएको थियो। साउन ९ देखि सुरु भएको अनुसन्धान प्रक्रिया साउन १९ गते स्वीकृत भई तथ्यांक संकलन गरिएको ज्ञवालीले बताए। अन्तिम प्रतिवेदन आइतवार मन्त्रालयलाई प्राप्त भएकोमा आजै मन्त्रालयको प्रेस ब्रिफिङमा सार्वजनिक गरिएको हो। ६ जनाको विज्ञ समूह रहेको अनुसन्धानमा ३९ जना दक्ष जनशक्ति परिचालन गरिएको थियो।

तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल तथा मालपोत कार्यालय र होटल लगायतमा अवलोकन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell