काठमाडौं: उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिन नदिन सरकारसँग विभिन्न माग गरेको छ।
फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आइतवार कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटी नाकामा कडाईदेखि सार्वजनिक यातायात बन्द गर्नेसम्मका माग राखेको हो।
‘काठमाडौँ उपत्यका मुलुकको राजधानी समेत हो। यहाँको घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजकलाई आग्रह गरेका छौं,’ फोरमका अध्यक्ष शाक्यले भने, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं। उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ।’
आजै सीसीएमसीको बैठक बोलाएर फोरमका मागबारे गम्भीरताका साथ छलफल गर्ने प्रतिबद्धता सीसीएमसीका संयोजक पोखरेलले जनाएको अध्यक्ष शाक्यले बताए।
छलफलका क्रममा फोरमले तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको छ।
‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा र्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौं। सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं।’
मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समुदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरे।
छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनालाई न्युनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्ने तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिए।
‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएका छौँ,’ श्रेष्ठले भने।
‘उपत्यकामा संक्रमणको जोखिम युक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौं। जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएका छौं,’ उनले थपे।
आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ।
फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ।
