PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश नम्बर १ सरकारले ४ स्थानमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, तर कहिलेसम्म?



अनन्तराज न्यौपाने

प्रदेश नम्बर १ सरकारले ४ स्थानमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, तर कहिलेसम्म?

विराटनगर : प्रदेश नम्बर १ को सरकारले स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा प्रदेशका ४ ठाउँमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ।

लामो समय काठमाडौं बसेर सर्वत्र आलोचना खेपिरहेका मुख्यमन्त्री शेरधन राई शनिवार प्रदेश राजधानी विराटनगर आएपछि आइतवार मुख्यमन्त्री कार्यालयमा प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक बस्यो। बैठकले प्रदेशका ४ ठाउँमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड र रङ्गेली नगरपालिकाको जनता क्याम्पसमा १ सय बेडको आइसोलेसन बनाइने छ। त्यस्तै, सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकास्थित बी जेनेरल अस्पताललाई ५० शय्या र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रमलाई १ सय शय्याको आइसोलेनमा रूपान्तरित गरिनेछ।

बैठकले कोभिड-१९ का संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेका सन्दर्भमा झापा, मोरङ र सुनसरी जिल्लामा एक/एक वटा निजी होटल र अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

तर, यस्ता आइसोलेसन केन्द्र कहिलेसम्म तयार हुने भन्ने टुंगोमा भने प्रदेश सरकार नपुगेको पाइएको छ।

मुख्यमन्त्री कार्यालयबाट सञ्चारकर्मीलाई प्राप्त प्रेस नोटमा आइसोलेसन केन्द्रको निर्माण गर्ने जानकारी दिइएको छ तर कहिलेसम्म निर्माण हुने भन्ने स्पष्ट पारिएको छैन।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको ‘लकडाउन खुलेपश्चात् कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७’ स्वीकृत गरेको छ।

मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले पठाएको प्रेस नोटमा उक्त कार्ययोजनामा के उल्लेखित छ भन्ने चाहिँ खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell