PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तामाङ समुदायमा प्रचलित ‘मिनज्याङ’ प्रथाबारेको पुस्तक सार्वजनिक



पहिलोपोस्ट

तामाङ समुदायमा प्रचलित ‘मिनज्याङ’ प्रथाबारेको पुस्तक सार्वजनिक

नवलपुर : अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा फूलमान तामाङद्वारा लिखित प्रथम कृति ‘मिनज्याङ (तामाङ समुदाय मा नाम जलाउने प्रथा’ पुस्तक सार्वजनिक भएको छ।

पुस्तक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकको कार्यालयमा गाउँपालिकाका प्रमुख एवम् गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङको प्रमुख आतिथ्यमा सार्वजनिक भएको हो।

पुस्तक विमोचन गर्दै गाउँपालिका प्रमुख तामाङले महत्वपूर्ण दिनमा पुस्तक सार्वजनिक भएको बताए।

‘आज अन्तर्राष्ट्रिय जनजाति दिवस पनि हो। यस अवसरमा तामाङ समुदायको संस्कृतिबारेको कृति बजारमा आएको छ’, तामाङले भने, ‘तामाङहरुको मौखिक इतिहासमात्र छ। बोम्बोको सेराप, ताम्बाको काइतेनमामात्र सीमित छ। संकटासन्न अवस्थामा पुगेको विषयलाई लिखित रुपमा ल्याउने साहस गर्नु धेरै राम्रो हो।’

उनले तामाङ समुदाय बोन समुदायमा पर्ने र यस समुदायमा अध्ययनका अनेक विषय अझै बाँकी रहेको बताए।

‘मान्छे कुनै जात बोकेर जन्मिदैन। बेनाम जन्मिन्छ। जुन कुल वा जातमा जन्म लिन्छ त्यही अनुसार उसको संस्कृति बन्छ’, प्रमुख तामाङले थपे, ‘तामाङ समुदाय बोन समुदायमा पर्छ। उनीहरुलाई बोम्पो लामाले नामाकरण गरिन्छ। प्रकृतिसँग नजिक रहेको यो बोन सम्प्रादयमा अध्ययनका अनेक विषय छन्। अरुले पनि अध्ययन गर्न सक्छन्। यस्ता विषयमा अध्ययन गर्नेलाई गाउँपालिकाको साथ र सहयोग रहन्छ।’

कार्यक्रममा विशेष अतिथि सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङले तामाङ जातिको विषयमा पहिलो प्रयास भएको बताए।

‘भोलिको दिनमा अर्को पुस्तक निस्कन सक्छ। हामीसँग धेरै विषय छन्। लेखन कार्य सजिलो छैन। धेरै खट्नुपर्छ। यो पुस्तक सरसर्ती पढ्दा चोहो, बोम्बो, लामादेखि विज्ञको भावना राखेको देखिन्छ,’ उनले भने।

सचिव तामाङले विभिन्न ठाउँ पुगेर यो पुस्तक निकालिएको देखिएको बताए।

गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाले आफू पहिलो पल्ट तामाङ जातिको विषयमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन पाएको उल्लेख गर्दै खुसी व्यक्त गरिन्।

‘हरेक जातिको आफ्नै सस्कृंति, परम्परा र संस्कार हुन्छ। मेरो जन्म ब्रह्माण जातमा भयो र मृत्यु भने तामाङ संस्कारमा हुने भयो’, उपाध्यक्ष लामाले भनिन्, ‘तामाङको मृत्यु संस्कार गर्नेबारे थाहा नभएकोले यो मिनज्याङ किताबले यस विषयमा छर्लङ्ग पर्नेमा म विसस्वस्त छु।’

लेखक तामाङले संसारका मानिस आफ्नो नाम जुनीजुनीसम्म राख्न मरिमेट्दा तामाङ समुदायले भने मृत्युपछि नामै जलाउने विषयले आफूमा प्रश्न उठेको बताए। सोही प्रश्नको उत्तर खोज्ने क्रममा पुस्तक तयार भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell