PahiloPost

Mar 15, 2024 | २ चैत्र २०८०

प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु वीभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान



सविन ढकाल

प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु वीभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान

काठमाडौं : सुटकेस नजिकै एउटा फ्याँकिएको नाम्लो। छेउमा कालो रंगको बडेमानको सुटकेस। सँगै पार्क गरेर राखिएका गाडी। प्रहरीको अनुमान थियो नाम्लो पक्कै यही सुटकेस बोक्न प्रयोग गरिएको होला। तर, त्यही नाम्लो प्रहरी अनुसन्धानको गतिलो कडी बन्यो। 

आइतवार बिहानै काठमाडौंको गोंगबु गणेस्थान क्षेत्र त्रसित बन्यो। नबनोस् पनि किन- एकाबिहानै विभत्स रूपमा हत्या गरी सुटकेसमा प्याक गरेर फ्याँकिएको शव भेटिएको थियो। अहिलेसम्म शव कसको हो भन्ने समेत खुल्न नसकेको अवस्थामा अपराधी पत्ता लाग्नु त परैको कुरा भयो।

करिब ७ बजेतिर प्रहरीलाई शंकास्पद सुटकेस भेटिएको जानकारी आएपछि सबै सुरक्षा निकाय त्यतैतिर केन्द्रित भए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली नै घटना अनुसन्धानमा लाग्यो। टोखा नगरपालिकाको वडा नम्बर १० मा पर्ने गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालो रंगको सुटकेस भेटियो।

कालो रंगको सुटकेस खोलेर हेर्दा टाउको र खुट्टा काटिएको शव थियो। अनुसन्धानमा खटिएका प्रहरीको समेत आङ सिरिङ्ग पार्ने घटना थियो। कसले? किन? भन्ने प्रश्न धेरै परको कुरा। बाँकी शव कहाँ थियो? भन्ने खोज्नु नै प्रहरीलाई चुनौतीपूर्ण थियो।

नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट तालिमप्राप्त कुकुर समेत झिकाइयो। तालिम केन्द्र महाजगञ्जबाट कुकुर लिएर प्रहरी नायब निरीक्षक (सई) शंकर घिमिरेको कमाण्डमा टोली पुग्यो। बेलारुसबाट किनेर ल्याइएको ब्लडहाउन्ड जातको ‘जोजो’ नाम गरेको कुकुर घटनास्थल पुर्‍याइयो। कुकुरका हेन्डलर थिए जवान जितेन्द्र बाडामगर।

सुटकेस बोक्न प्रयोग गरिएको नाम्लो कुकुरलाई सुँघाइयो। कुकुर बिस्तारै अघि बढ्यो। करिब तीन सय मिटर पर एउटा झोलालाई पुगेर कुकुरले संकेत गर्‍यो। कुकुरका हेन्डलरले बुझिहाले। झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो।

‘कुकुरले ठूलो सहयोग गर्‍यो। सायद हामीले मात्र खोजेको भए अझै बढी समय लाग्थ्यो होला,’ महानगरी प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने। यो जातको कुकुरले ९६ घण्टा पुरानो घटना सुँधेर पत्ता लगाउने प्रहरीको दावी छ।

अपराध अनुसन्धानको ट्रयाकर कुकुर जोजो त्यसपछि केही अगाडि बढ्यो। तर, त्यसपछि कुनै ट्र्याक लिन सकेन।

‘अपराधीले त्यहाँबाट गाडी प्रयोग गरेको वा कुनै संकेत नदिएकाले कुकुरले फलो गर्न नसकेको हुनुपर्छ, ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

अनुसन्धानमा क्लु नै भेटिएन!

सुटकेसमा भेटिएको शवमा भेष्ट र कट्टुमात्र फेला परेको छ। शरीरमा अन्य कपडा छैनन्। शरीरलाई टुक्रा-टुक्रा पारेर काटिएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन।

अन्दाजी ४० देखि ४५ वर्षीय पुरुष भएको फरेन्सिक चिकित्सकले प्रारम्भिक जानकारी दिएका छन्। यसलाई आधार बनाएर प्रहरीले मृतकको सनाखत गर्ने प्रयास गरिरहेको छ। घटना हत्या नै भएकोमा प्रहरी अन्योलमा छैन।

‘यो हत्या नै हो। यसमा दुईमत भएन। तर, कसले भन्ने खोज्दै हो,’ महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले भने।

मृतकको शरीरबाट कुनै पनि परिचय खुल्ने कागजपत्र, मोबाइल फोनलगायतका सामाग्री भेटिएको छैन। वरपरका स्थानीयवासीले समेत शवको पहिचान गर्न सकेका छैनन्। अहिलेसम्म सनाखत गर्न कोही पनि नआएकाले प्रहरीको अनुसन्धान शून्य झैँ भएको छ।

‘अहिलेसम्म सनाखत भएको छैन। सनाखत भए अनुसन्धानलाई प्राविधिक र अन्य पक्षबाट अघि बढाउन सकिन्थ्यो। हामी अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी ज्ञवालीले भने।

प्रहरीले शवको सनाखत गर्न मानिस हराएको भन्दै प्रहरीमा दर्ता भएका उजुरीहरूको अध्ययन पनि गरिरहेको छ। त्यस्तै घटनास्थल वरपरका मानिससँग पनि सोधपुछ गरिरहेको छ। तर, अझैसम्म केही क्लु हात पार्न सकिएको छैन। शवको प्रकृति हेर्दा रिस फेर्न र प्रोफेसनल व्यक्तिले काटेको जस्तो प्रहरीको अनुसन्धानमा देखिएको छ।

‘रिस मेट्न मानिसले काटेको देखिन्छ। कटाई हेर्दा कुनै प्रोफेसनल व्यक्ति हो कि जस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीले घटनाको अनुसन्धानमा सहयोग पुग्ने भन्दै वरपर रहेका सीसी क्यामेरा फुटेज समेत हेरेको छ। तर, रातको समय त्यसमा पनि शनिबार राति रातभर पानी परेकाले फुटेजबाट थप तथ्य खुल्ने देखिएको छैन।

‘नाइटभिजन सीसी क्यामेरा छैनन्। नर्मल क्यामेरामा त्यस्तो क्लु भेटिएको छैन,’ परिसरका एसएसपी ज्ञवालीले भने।

शवको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धान अघि बढ्न मुस्किल भएको छ। मृतको पहिचान खुलेको थियो भने उनी कहाँ बस्थे? पछिल्लो समय को को सँग सम्पर्क भएको थियो? कसैसँग रिसिइवी थियो कि? लगायतका प्रश्नलाई आधार बनाएर प्रहरीको अनुसन्धान अघि बढ्यो। तर सनाखत नै हुन नसक्दा समस्या परेको छ।

घटनास्थल कहाँ?

प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्याको लागि प्रयोग भएको घटनास्थल अन्यत्र नै भएको देखाएको छ। सुटकेसमा प्याक गरेर फ्याँकिएको छ। सुटकेस बोक्न नाम्लो समेत प्रयोग भएकाले घटनास्थल शव भेटिएको भन्दा अन्तै हुनुपर्ने अनुसन्धानमा खुलेको छ। करिब १ देखि २ किलोमिटरको दूरीमा हुनुपर्ने आशंका गरिएको छ।

प्रहरीको आशंकाका आधार पनि छन्। टाढाको दूरीमा हत्या गरेर शव फ्याँक्न ल्याउँदा रिक्स बढी हुन्छ। त्यसैले अपराधीले नजिकैको दूरी हेर्छन्। नाम्लो प्रयोग भएकाले गाडीको प्रयोग हुने सम्भावना कम देखिएको छ। फेरि सरकारले कोरोना संक्रमण न्यूनीकरण गर्न भन्दै राति ९ बजेतिर संक्रमित क्षेत्रमा हिँडडुल गर्न रोक लगाएको छ। यस्तो समयमा अपराधीले जोखिम लिन सक्छ? भन्ने प्रश्नलाई आधार बनाएर अनुसन्धान गरिरहेको छ।

हत्याको प्रकृति र घटनास्थल हेर्दा घटनामा एकभन्दा बढी मानिसको संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell