PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेकपाका ६१ सांसदको सन्देश : नेतृत्वमा ध्वंसात्मक अन्तर्विरोध देखियो, हामी कुनै कित्तामा छैनौँ



कुञ्जरमणि भट्टराई

नेकपाका ६१ सांसदको सन्देश : नेतृत्वमा ध्वंसात्मक अन्तर्विरोध देखियो, हामी कुनै कित्तामा छैनौँ
फोटो : रासस।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पार्टी फुटाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतवार ६१ जना सांसदहरूले पार्टी फुटाउने गतिविधिमा आफूहरू सामेल नहुने सन्देश दिएका हुन्।

केही समययता नेकपाको अन्तर्विरोधका कारण पार्टी फुटको संघारमा पुगेको बहस राजनीतिक वृत्तमा भइरहेको छ। नेकपाका नेताहरूले नै पार्टी फुट्ने अवस्थामा पुगेको स्वीकार गर्दै आइरहेका छन्। पार्टी नेतृत्व नै विभाजनको दिशातिर अग्रसर भइरहेको नेताहरूको आरोप छ।

यतिबेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आ-आफ्नो पक्षबाट फायर खोलेका छन्। नेताहरुबीच विवाद समाधानका लागि केही दिनयता वार्ता हुन सकेको छैन। 

नेताहरू आफ्ना गुटगत भेलामा व्यस्त भइहरेका बेला तीनै पक्षका सांसदहरू एउटै मञ्चमा उभिएका हुन्। उनीहरूले यसअघि जुनसुकै नेताहरूको कित्तामा लागेको भए पनि पार्टी फुटाउने कित्तामा आफूहरू नउभिने उद्घोष गरे।

‘यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेको विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहसँगै विभक्त भए तापनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा हामी प्रतिबद्ध छौँ,’ उनीहरूले जारी गरेको प्रतिबद्धता पत्रमा भनिएको छ।

पार्टी नेतृत्व ध्वंसात्मक

पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजानुपर्ने पक्षमा रहेका सांसदहरूले नेतृत्व ध्वंसात्मक भएको ठहर गरेका छन्। उनीहरूले ध्वंसात्मक अन्तर्विरोध निस्तेज पार्ने पनि बताएका हुन्। पार्टी विभाजन हुनेगरी आफूहरूले सार्वजनिक अभिव्यक्ति नदिने उनीहरूको भनाइ छ।

‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष-विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी रहने छैनौँ र त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौँ,’ सांसदहरुले स्पष्ट पारेका छन्।

‘पार्टी फुटमा सम्झौता गर्दैनौँ’

नेकपाको विवाद फुटतिर पुगेको भन्दै उनीहरूले पार्टी फुटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका हुन्।

सांसद अञ्जना विशंखेले पार्टी फुटाउन सम्झौता गर्न नसकिने बताइन्।

‘पार्टी फुटमा सम्झौता गर्न सक्दैनौँ। तल्लो तहसम्म पार्टी एकीकरण नहुँदै भइरहेको विवाद दुखद् छ। हामीलाई कुन विचार र विवादले यो अवस्थामा पुर्‍यायो? हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौँ,’ उनले भनिन्।

सांसद कृष्णप्रसाद दाहालले पार्टी नफुट्ने र फुटाउन सक्ने तागत कसैसँग नभएको दावी गरे।

‘पार्टी फुट्दैन, फुट्न दिँदैनौँ। हाम्रो कारणले उहाँहरूलाई पार्टी फुटाउन बल पुग्छ भने बल नपुर्यागउन प्रतिबद्धता व्यक्त गरेका हौँ। पार्टी फुटाउन कसैको तागत छैन,’ उनले भने।

‘तीनै नेता हामीकहाँ आउने बनाउँछौँ’

सांसद दाहालले तीनै नेता आफूहरूको कित्तामा आउने वातावरण बनाउने दावी गरे।

उनले आफूहरू कुनै नेताको कित्तामा नरहेको बताउँदै पार्टी एकताको कित्तामा बताए।

‘हामी कित्ता कित्तामा नै थियौँ। कित्ता-कित्तामै भएकाले नै नेताहरूले हाम्रा टाउका गन्न थाले ’, दाहालले भने, ‘अब हामीलाई यो कित्ता र उ कित्तामा राखेर गणना गर्ने गल्ती गर्नुपर्दैन। पार्टी एकताकै कित्तामा सांसद पुगेछन् भनेर बुझ्नुस्। ’

उनले थपे, ‘हामी तीन जना नेताकहाँ होइन। ती नेता हामीकहाँ आउने गराउँछौँ। हामी हस्ताक्षर गर्न जाँदैनौँ।’

टुक्र्याएर सिम्बोलिक पार्टीको कल्पना नगरियोस् 

सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गरेर सानो पार्टी बनाएर चलाउने कल्पना नगर्न चेतावनी दिइन्। पार्टीलाई विभाजन गरेर सिम्बोलिक पार्टी बन्ने दावी पनि गरिन्।

‘ऐतिहासिक कालखण्डमा रहेको पार्टीलाई विभाजन गरेर यस्तै खालको एउटा सानो पार्टी निर्माण गरेर उठेर आउनका लागि धेरै कठिन छ। त्यस कारण कुनै पनि सदस्यहरूले पार्टी विभाजन गरेर सानो सुखी परिवार बनाएर जान्छु भनेर सोच्नु भएको छ भने एउटा बोर्ड राखेको सिम्बोलिक पार्टी त बन्न सक्छ। मुलुकको नेतृत्व गर्ने पार्टी बनाउन सकिन्न,’ उनले भनिन्।

कसैले सानो पार्टी निर्माण गरेर चलाउँछु भने त्यो एक प्रकारको न्यानो मात्रै हुने उनको निचोड छ।

‘हस्तक्षेपकारी भूमिका खेल्न बाध्य नबनाइयोस्’

सांसदहरूले पार्टी विवादमा हस्तक्षेपकारी भूमिका खेल्न बाध्य हुने अवस्था आउन नदिन चेतावनी दिएका छन्।

‘नेतृत्वले समस्याको उचित समाधान दिन सकेन’, सांसद गणेश पहाडी भने, ‘समस्या जहाँको त्यहीँ रह्यो भने समस्याको समाधानसहित हस्तक्षेपकारी भूमिकामा जान सक्छौँ। त्यो अवस्था नआओस्।’

उनले नेतृत्वले समस्या समाधान गरेर जाने विश्वास पनि व्यक्त गरे।

त्यस्तै, सांसद विशाल भट्टराईले पार्टी एकता जोगाउन धुम्वाराहीस्थित पार्टी कार्यालयमा र नेताहरूको निवासमा धर्ना बस्ने चेतावनी दिएका छन्। भट्टराईले नेताहरूको विवाद पद र प्रतिष्ठासँग मात्र रहेको बताए।

अहिले ६१ जनाको हस्ताक्षर गरे पनि त्यसलाई बढाउँदै लैजाने योजना रहेको सांसद सुरेशकुमार राईले बताए। उनका अनुसार सचिवालय सदस्य र स्थायी समिति सदस्यबाहेक अन्य सांसदहरूको हस्ताक्षर गराउने अठोट छ। सांसदहरू अहिले बाढी पहिरोका कारण उपत्यकाबाहिर रहेकाले थोरै संख्या भए पनि सार्वजनिक गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell