PahiloPost

Sep 22, 2020 | ६ असोज २०७७

कोभिड - १९ निगरानी सम्बन्धी डब्लुएचओको नयाँ निर्देशिका : शङ्कास्पद र सम्भावित संक्रमितको परिभाषा संशोधित



विधुर ढकाल

कोभिड - १९ निगरानी सम्बन्धी डब्लुएचओको नयाँ निर्देशिका : शङ्कास्पद र सम्भावित संक्रमितको परिभाषा संशोधित

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार गरेको छ। कोभिड-१९ सम्बन्धि पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरिएको हो।

निर्देशिकामा शङ्कास्पद तथा सम्भावित संक्रमितलाई परिभाषित गर्दै कोभिड-१९ सम्बन्धि भाइरस सार्स-सीओभी-२ का लक्षणका विषयमा चर्चा गरिएको छ। सदस्य राष्ट्रहरुलाई कोभिड-१९ को निगरानीका लागि सहयोग पुर्‍याउनका लागि गाइडलाइन तयार गरिएको डब्लुएचओले जनाएको छ।

कोभिड-१९ को संक्रमणको गतिशीलता तथा लक्षणका बारेमा अध्यावधिक भएका प्रमाणका आधारमा शङ्कास्पद तथा सम्भावित केसहरुलाई परिभाषित गरिएको छ। डब्लुएचओको निर्देशिकामा सर्भिलेन्स डाटा विश्लेषण गर्दै सम्भावित लक्षणको मूल्यांकन गर्न भनिएको छ।

निर्देशिकाले स्थानीय इपिडिमियोलोजिकल अवस्था र अन्य कारकहरुका आधारमा  कोभिड-१९ केसहरुको परिभाषित गर्न भनेको छ। निर्देशिकाले यस्तो परिभाषा प्रत्येक देशहरुलाई अनलाइनमा प्रकाशित गर्न तथा नियमित रुपमा अवस्था प्रतिवेदन सार्वजनिक गर्न समेत भनेको छ।

शङ्कास्पाद केसहरु

डब्लुएचओले शङ्कास्पद केसहरुको दुईवटा परिभाषा दिएको छ। पहिलो क्लिनिकल तथा इपिडिमियोलोजिकल मापदण्डका आधारमा।

क्लिनिकल आधारमा तीब्र ज्वरो तथा खोकी अथवा कोभिड-१९ का लक्षणहरु ज्वरो, खोकी, सामान्य कमजोरी महसुस हुनु, टाउको दुख्नु, शरीर दुख्नु, घाँटी दुख्नु, सर्दी, दम, वाकवाकी लाग्नु, बान्ता हुनु, पखाला लाग्नु, मानसिक स्थितिमा बदलाव हुनुमध्ये तीन वा तीनभन्दा बढी लक्षण देखापरे कोभिड-१९ को शंकास्पद केसको रुपमा परिभाषित गरेको छ।

त्यस्तै इपिडिमियोलोजीको आधारमा तीन वटा केसलाई शङ्कास्पद केसको रुपमा अन्तरिम निर्देशिकाले परिभाषित गरेको छ। संक्रमणको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने: जस्तै घना बस्ती वा मानवीय आउजाउ हुने क्षेत्र विस्थापितहरुको शिविरहरु, लक्षण देखिएको १४ दिन सम्मका केसहरु।

त्यस्तै, इपिडिमियोलोजिकल आधारमा शङ्कास्पद केसको दोस्रो परिभाषा सामुदायमा संक्रमण फैलिएको क्षेत्रको भ्रमण गरेको र लक्षण देखिएको १४ दिन अगाडिको केस, तेस्रो परिभाषा स्वास्थ्य क्षेत्रमा काम गर्ने लक्षण देखिएको १४ दिन अगाडिका केसहरुलाई शङ्कास्पद केसमा परिभाषित गरेको छ।

त्यस्तै, अन्तरिम निर्देशिकाले गम्भीर तीब्र स्वासप्रस्वास सम्बन्धी रोग (एसएआरआई) भएका विरामीहरु, स्वासप्रस्वास सम्बन्धी संक्रमणको हिस्ट्री भएका ३८ डिग्री सेल्सियसको ज्वरो मापन भएका तथा खोकी भएका लक्षणहरु १० दिन यता देखिएका र अस्पताल भर्ना  गर्नुपर्ने विरामीलाई पनि शङ्कास्पद केसको रुपमा परिभाषित गरेको छ।

सम्भावित केसहरु

डब्लुएचओको परिमार्जित परिभाषा अनुसार चारवटा सम्भावित केसहरुको परिभाषा दिइएको छ।

पहिलो: माथिका क्लिनिकल आधार भएका (शङ्कास्पद केस) र पुष्टि भएका वा सम्भावित संक्रमितहरुसँग सम्पर्क भएका अथवा 'इपिडिमियोलोजीकल्ली क्लस्टर' मा कम्तिमा एक संक्रमण पुष्टि भएको 'क्लस्टर अफ केस'सँग जोडिएका।

दोस्रो: माथि शङ्कास्पद केसहरु जसमा छातीको रेडियोग्राफी, छातीको सीटी, फोक्सोको अल्ट्रा साउन्ड गर्दा कोभिड-१९ को संक्रमण हुन सक्ने सम्भावना बोकेका।

तेस्रो: अन्य कुनै कारणबिना एनोस्मिया (गन्ध थाहा नपाउने), अथवा स्वाद थाहा नपाउने लक्षण भएका ब्यक्तिहरु,

चौथो: मृत्यु, अन्य कारणको व्याख्या नभएका स्वासप्रस्वास सम्बन्धी समस्याले मृत्यु भएका वयस्क र सम्भावित वा संक्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्क भएका अथवा माहामारी सम्बन्धी कम्तिमा एक जनामा संक्रमण पुष्टि भएका क्लस्टर केससँग जोडिएका।

सम्पर्क सम्बन्धि परिभाषा

डब्लुएचओले सम्पर्क भन्नाले शङ्कास्पद वा संक्रमित व्यक्तिसँग लक्षण देखिएको दुई दिन अघि र १४ दिन पछिका व्यक्तिसँग

-सम्भावित वा संक्रमित व्यक्तिसँग एक मिटरको दुरी भित्र १५ मिनेटसम्म प्रत्यक्ष सम्पर्क भएका भएका,

-सम्भावित वा संक्रमित व्यक्तिसँग प्रत्यक्ष शारीरिक सम्बन्ध भएका,

-पीपीईबिना संक्रमित व्यक्ति वा सम्भावित ब्यक्तिको हेरचाहमा खटिएका

-स्थानीय आधारमा जोखिम विश्लेषणका आधारमा।

यसैबीच डब्लुएचओले संक्रमितहरुको केस रिपोर्ट फर्म डब्लुएचओलाई पठाउन नपर्ने भनेको छ। उसले केसहरुको साताब्यापी प्रतिवेदन हरेक साताको बिहीवार भित्र पठाउनसमेत भनेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell