PahiloPost

May 24, 2026 | १० जेठ २०८३

राष्ट्रिय फुटबल टिमको स्वाब संकलन सुरु, बाँकीको भोलि

राष्ट्रिय फुटबल टिमको स्वाब संकलन सुरु, बाँकीको भोलि

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमको कोभिड - १९ परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ। पाटन अस्पतालमा आज पहिलो चरणमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको हो। बाँकीको भोलि (मंगलवार) स्वाव संकलन गरिने राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्यायले जनाए।

भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो। परीक्षणका लागि दुई दिन लाग्ने एन्फाले जनाएको छ।

खेलाडी अभ्यासमा उतार्नका लागि एन्फाले १७ बुँदे प्रोटोकलसमेत तयार गरिसकेको छ। जसमा संक्रमणको लक्षण देखिएको अवस्थादेखि खाना खाने, लुगा धुने विषयमा पनि छुट्टाछुट्टै सन्दर्भहरु उल्लेख छ। त्यस्तै अभ्यासमा जाँदा तापक्रम मापन गर्ने, सामाजिक दुरी कायम राख्ने, कपडा जुत्ता धुँदा वासिङ मेसिनमा छुट्टाछुट्टै धुने, खाना खाने क्रममा सँगै नखाने, 'टेक अवे' गर्ने लगायतका विषयहरु उल्लेख छन्।

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले सरकारको निर्णय अनुसार भदौ १ गतेबाट अभ्यास सुरु गराउँदैछ। जसका लागि खेलाडीलाई काठमाडौं बोलाइसकेको छ।

केही समयअघि सम्म कोरोना संक्रमित राख्न प्रयोग गरिएको एन्फाको होस्टल खाली गरेर 'डिसइन्फेक्ट' गरिसकेको एन्फाले जनाएको छ।

नेपालले कतार विश्वकप २०२२ तथा चीन विश्वकप २०२३ को छनोट खेलअन्तर्गत 'होम गेम' सेप्टेम्बर/अक्टोबर महिनामा खेल्ने तालिका रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell