PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘मेडिकल हब’ भनेर चिनिएको विराटनगर बन्यो कोरोनाको ‘हटस्पट’ : अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण तीव्र



अनन्तराज न्यौपाने

‘मेडिकल हब’ भनेर चिनिएको विराटनगर बन्यो कोरोनाको ‘हटस्पट’ : अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण तीव्र

विराटनगर : कोरोना भाइरसको ‘हटस्पट’ बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरका मुख्य अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड-१९ बाट ग्रस्त छन्।

दुई हप्ताअघि एक मेडिकल कलेज तथा अस्पतालका सञ्चालकबाट शुरु भएको स्वास्थ्यकर्मीको संक्रमण यति बेला तीव्र रूपमा फैलिएको छ।

सबै अस्पतालले आपत्कालिनबाहेक ओपीडी सेवा बन्द गरेका छन्। नेपालकै ‘मेडिकल हब’का रूपमा स्थापित भइसकेको विराटनगरका मेडिकल कलेज र अस्पतालसँग सम्बन्धितमा कोरोना संक्रमण देखिने क्रम जारी छ।

पहिलो पोस्टलाई प्राप्त जानकारीअनुसार विराटनगरमा संघीय सरकारद्वारा सञ्चालित एकमात्र सरकारी अस्पताल कोशी अस्पतालका १७  जना स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएका छन्। जसमा १ डाक्टर, ७ नर्स, ३ सफाइ कर्मचारी, २ प्राविधिक र अन्य प्रशासनका कर्मचारी हुन्।

पूर्वकै ठूलो र अत्याधुनिक बताइएको नोबेल शिक्षण अस्पतालमा कार्यरत ३ डाक्टर र १ स्टाफ नर्समा कोभिड-१९ भएको पुष्टि भएको छ। अन्य कर्मचारी र स्वास्थ्यकर्मीको स्वाव संकलन गर्ने काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालले अस्पतालले सबै स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षणलाई तीव्र बनाएको जानकारी दिए।

विराट मेडिकल कलेज अन्तर्गतको विराटनगर अस्पतालका १३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ डाक्टर, ५ स्टाफ नर्स र अन्य प्रशासनका कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ। अधिकांशले कोरोनालाई जितिसकेको प्रशासन प्रमुख पदम बिडारीले बताए।

विराटनगरकै अर्को ठूलो स्वास्थ्य केन्द्र न्यूरो अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि कोभिडको संक्रमणबाट अछूतो रहन सकेनन्। यस अस्पतालमा आएका एक सेवाग्राहीलाई पनि संक्रमण भएको पाइएको छ। न्यूरो अस्पतालका ८ जना कोभिड-१९ बाट संक्रमित भएका छन्। उनीहरूमध्ये १ डाक्टर, ५ स्टाफ नर्स, १ सफाइ कर्मचारी र १ सेवाग्राही हुन्।

विराटनगरको व्यस्त हस्पिटल चोकमा सञ्चालित गोल्डेन अस्पतालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १ स्वास्थ्यकर्मी र २ कर्मचारी हुन्।

कोभिड-१९ बाट मोरङ सहकारी अस्पतालका ५ जना ग्रस्त भएका छन्। तर, संक्रमित ५ जना कुन विभाग र तहका हुन् भन्ने खुलाइएको छैन। प्रदेश सरकार र महानगरपालिका दुवै निकायले मोरङ सहकारी अस्पतालका संक्रमित कुन विभागका हुन् भन्ने जानकारी दिन इन्कार गरे।

विराटनगरको महेन्द्र चोकमा अवस्थित म्याक्स अस्पतालमा दुई सेवाग्राही कोभिडबाट संक्रमित भएका छन्। सेवाग्राहीमा संक्रमण पाइएपछि अस्पतालले आइतवारदेखि ओपीडी सेवा बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell