PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए, तीन सय घरभित्र पानी पस्यो



रासस

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए, तीन सय घरभित्र पानी पस्यो

कैलाली : कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष सोमवार जीवित भेटिएका छन्।

मोहन्याल गाउँपालिका-३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतवार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

विष्टलाई अहिले उनका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक थापाले बताए। उनको अवस्था अहिले मध्यम रहेको बताइएको छ।

तीन सय घरभित्र पानी पस्यो

गए रातिदेखिको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै केही बस्तीका घरमा पानी पसेको छ। प्रहरी निरीक्षक थापाले धनगढी आसपासका झण्डै ३०० घरभित्र पानी पसेको जानकारी दिए।

‘धनगढीको क्याम्पस रोडका पाँच/सात वटा र वसन्त टोलका चार/पाँच वटा कच्ची घरभित्र भने पानी पसेर खाद्यान्न लत्ताकपडा लगायतका सामग्री भिजेका छन्’, प्रहरी निरीक्षक थापाले भने, ‘प्रहरीको टोली गएर उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइसकेको छ।’

अविरल वर्षाका कारण धनगढीको शिवनगर, चटकपुर, विशालनगर, क्याप्पस रोड, वसन्त टोललगायत क्षेत्र बढी डुबानमा परेको बताइएको छ। अहिले भने अवस्था सामान्य भइसकेको जनाइएको छ।

खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या हरेक वर्ष बढ्दै गएको छ भने सडकको पानी निकासका लागि बनाइएका नाली काम नलाग्ने भएका छन्। नालीले सडकको पानी थेग्न सक्ने अवस्था नभएपछि यहाँका बस्तीहरु डुबानमा पर्ने गरेका छन्।

यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण यहाँका अधिकांश बस्तीहरु जलमग्न हुनुका साथै दर्जन बढी घर तथा पसल डुबानमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell