PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई एसएसपीको कमाण्डमा दुई घण्टा बढीको 'घर सर्च अप्रेसन', के हत्या त्यहीँ भएको हो?



पहिलोपोस्ट

दुई एसएसपीको कमाण्डमा दुई घण्टा बढीको 'घर सर्च अप्रेसन', के हत्या त्यहीँ भएको हो?

काठमाडौँ: आइतबार बिहानै गोंगबुमा हत्या गरी फ्याँकिएको शव फेला परेसँगै अनुसन्धानमा खटिएको प्रहरी टोली २४ घण्टासम्म अलमलमै रहयो। शवको पहिचान नै खुलेन। अन्य  प्राविधिक पक्षले पनि खासै साथ दिएन। न घटनास्थल नजिकै सिसी क्यामरा थियो न  मृतकको साथमा कुनै कागजपत्र वा मोबाइल।

तर सोमबार बिहान प्रहरीले नै मृतकको काटिएको टाउकोको तस्विर सार्वजनिक गर्‍यो। त्यसपछि प्रहरीलाई शव पहिचान भएको सूचना आयो। प्रहरीले मानिस हराएको भन्दै परेका सूचनाको विश्लेष्ण नगरेको पनि होइन। तर कुनै क्लु हात परिरहेको थिएन।

 अन्ततः मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको प्रहरीकै दावी छ। काम काठमाडौँको एक फ्याक्ट्रीमा गर्थे उनी।

'सनाखत भएको छ। अब अनुसन्धानलाई सहयोग पुग्छ।' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

शव लिएर आएको घर पनि नजिकै भएको जानकारी आयो। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवाली, एसपी सोमेन्द्रसिंह राठौर, महानगरीय अपराध अनुसन्धान महाशाखका एसएसपी दीपक थापा, एसपी ईश्वर कार्कीलगायतको प्रहरी टोली गोंगबुको शव भेटिएको स्थानतिर लाग्यो।

आइतबार टोखा नगरपालिका १०, गणेशथान नजिकै कालो रंगको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो। नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट गएको ‘जोजो’ नामको ट्रयाकर डगलाई सुटकेस नजिकै रहेको नाम्लो सुँघाएर छोड्दा करिब तीन सय मिटर पर गएर संकेत गरेको थियो। कुकुरले संकेत गरेको ठाउँमा झोला थियो। झोलामा काटिएको टाउको र खुट्टा फेला पर्‍यो।

तर शवको सनाखत नहुँदा अनुसन्धान केही अलमलमा पर्‍यो। सोमबार प्रहरीलाई आएको सूचना अनुसार टोली फेरि घटनास्थल नजिकै पुग्‍यो। शव भेटिएको स्थानबाट करिब सय मिटरको दूरीमा नै हत्या गरेको शव ल्याएको खुलेपछि शंकास्पद चार तले घरको प्रहरीले खानतलासी गरेको थियो।

'पहिले कुकुर पनि त्यही घर नजिकै आएर अलमलिएको थियो। त्यसैलाई आधार बनाएर मात्र अनुसन्धान गर्नु भएन। थप सूचना आएपछि घरको खानतलासी गरेका हौँ।' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।

त्यही घरमा नै हत्या भएको  हो त? कोही कसैले हत्या गरेर त्यति नजिकै शव फ्याँक्छ?

घटनाको प्रकृति हेर्दा भबितब्य देखिँदैन। शरीर टुक्राटुक्रा पारेर त्यो पनि मानिसले देख्ने स्थानमा नै शव फ्याँकिएको थियो।

'घरको खानतलासी भएको छ। घटनाको लिड पाइसकेका छौँ। चाँडै हत्यारा पत्ता लाग्छ।' एसएसपी ज्ञवालीले भने।

अनुसन्धानको क्रममा प्रहरीले सोही घरमा कोठा भाडामा लिएर बस्ने गरेकी एक महिलालाई नियन्त्रणमा लिएको छ। चितवनकी कल्पना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले आइतबारदेखि गोंगबु क्षेत्रका घर तथा स्थानीयलाई सोधपुछ गरिसकेको थियो। सोमबार दुई घण्टाभन्दा बढी प्रहरीका उच्च अधिकृत नै खानतलासीमा संगल्न भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell