काठमाडौं : विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार आज बिहान ६ बजेर २० मिनेटसम्म विश्वका २ करोड ४ हजार २ सय ५४ जना मानिसमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको हो।
चीनको वुहानबाट सुरु भएको संक्रमण चीनमा नियन्त्रण भए पनि विश्वका धेरै मुलुकमा अनियन्त्रित रुपमा फैलनेक्रम जारी छ। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५० लाख ८८ हजार पार भइसकेको छ भने ब्राजिलमा ३० लाख ५७ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन्।
कोरोना भाइरसको संक्रमणका कारण खराब अवस्थाबाट गुज्रिएका मुलुकको सूचीमा तेस्रो स्थानमा छ भारत जहाँ २२ लाख १५ हजारभन्दा धेरै मानिस यसबाट संक्रमित छन्। संक्रमणको रफ्तारमा निक्कै नियन्त्रणमा ल्याएको रसिया अहिले चौथो स्थानमा छ। रसियामा ८ लाख ९० हजार संक्रमित छन्।
दक्षिण अफ्रिका, म्याक्सिको, पेरु, कोलम्बिया लगायतका मुलुक संक्रमितको संख्या धेरै हुने मुलुकमा पर्छन्।
संक्रमितको संख्या २ करोड पार हुँदा यसका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ। अहिलेसम्म ७ लाख ३३ हजार ९ सय २९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेको संख्यामा अमेरिका नै पहिलो स्थानमा छ। त्यहाँ १ लाख ६३ हजार ४ सय मानिसको मृत्यु भइसकेको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख १ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। मेक्सिकोमा ५२ हजार २ सय ९२ जना मानिसले ज्यान गुमाइसकेका छन्। बेलायतमा मृत्यु हुनेको संख्या ४६ हजार ६ सय ११ रहेको छ। भारतमा मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ रहेको छ।
भारतपछि दक्षिण एसियामा पाकिस्तानको अवस्था खराब छ। पाकिस्तानमा २ लाख ८४ हजार ६ सय ६० जना संक्रमित छन् भने त्यहाँ ६ हजार ९७ जना मानिसको ज्यान गुमिसकेको छ। पाकिस्तानको पछिपछि छ वंगलादेश। त्यहाँ संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ७ रहेको छ। वंगलादेशमा ३ हजार ४ सय ३८ जनाले संक्रमणकै बीच ज्यान गुमाइसकेका छन्।
अफगानिस्तामा संक्रमितको संख्या ३७ हजार १ सय ६२ पुगिसकेको छ। त्यहाँ १ हजार ३ सय २८ जनाको मृत्यु भएको छ।
नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय भन्दा माथि पुगिसकेको छ। अहिलेसम्म नेपालमा ८१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। दक्षिण एसियाकै श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ७१ रहेको छ। त्यहाँ ११ जनाले ज्यान गुमाएका छन्। भुटानमा संक्रमितको संख्या ११० पुगेको छ। संक्रमित बढेको भन्दै भुटानले फेरि लकडाउनको निर्णय पनि गरिसकेको छ।
