काठमाडौं : कोरोना महामारीका बीच असार दोस्रो साताबाट शुरु भएको कराते प्रशिक्षण मंगलवारबाट रोकिएको छ। संक्रमितको संख्या बढेको भन्दै अभ्यास रोकिएको कराते प्रशिक्षक दीपक श्रेष्ठले बताए।
टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका अनु अधिकारी र नवीन रसाइलीले शुरुमा सातदोबाटोस्थित कराते हलमा अभ्यास शुरु गरेका थिए। उनीहरुलाई दीपक श्रेष्ठले प्रशिक्षण दिँदै आएका थिए। पछिबाट भने थप खेलाडीहरु पनि अभ्यासमा सहभागी हुन थालेका थिए।
'खेलकुदका मान्छेलाई पनि बिस्तारैबिस्तारै संक्रमण देखिन थाल्यो। सातदोबाटोमा पनि आइसक्यो स्वासमा। तेइ भएर हामीलाई पनि जोखिम हुन सक्ला भनेर अलि सामान्य अवस्था नबनुन्जेलका लागि अभ्यास रोकेका हौं,' प्रशिक्षक विष्टले भने, 'परिस्थिति सुध्रिएपछि फेरि गराउने भन्ने कुरा छ।'
करातेका खेलाडीहरु भाइजर लगाउने लगायतका सुरक्षामा चासो दिएर अभ्यास गरिरहेका थिए।
यस्तै नेपाल क्रिकेट संघ (क्यान) खेलाडीको प्रशिक्षण गराइहाल्ने अवस्थामा छैन। अर्कोतर्फ अखिल नेपाल फुटबल संघ एन्फाले भने खेलाडीको पीसीआर परीक्षण गराएर भदौ १ गतेबाट अभ्यासमा उतार्ने तयारी गरेको छ।
केही दिन अघि स्क्वासका प्रशिक्षकमा पनि कोरोना देखिएको थियो।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताएका थिए।
यसबाहेक पनि पूर्वराष्ट्रिय क्रिकेटर पवन दासलाई केही दिन अघि कोरोना पुस्टी भएको थियो।
