PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मति विग्रिएकाहरुले सरकारको आलोचना गरे, श्रीकृष्णले सत्बुद्धि देउन : स्वास्थ्य मन्त्री ढकाल



पहिलोपोस्ट

मति विग्रिएकाहरुले सरकारको आलोचना गरे, श्रीकृष्णले सत्बुद्धि देउन : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिएका छन्।

उनले पार्टीभित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन्।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिएका हुन्।

उनले भने, ‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस भन्ने शुभकामना दिन चाहन्छु। चाहे ति मेरा घरभित्र बसेका हुन चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन्। सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन।’

मन्त्री ढकालले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे। सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे। उनले भने, ‘बाँचियो भने सत्ता प्राप्ती गर्ने लडाई फेरि पनि खेल्न सकिन्छ। किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन। पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन्। म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही विग्रिँदैन। स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहिँ ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन्। जनताको नजरमा हामी परीक्षमा नै छौं। सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं।’

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए। कुनै बेला पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए। त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए। अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए। जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे। उनले भने, ‘गीतहरु बदली बदली आउने छन्। एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो। अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो। अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन्। ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।’

मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताए। संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए। अन्य मुलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको उनको भनाई छ। महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले सबै पक्षलाई आग्रह समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell