PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एउटा भयपूर्ण हत्याको यसरी तयार भयो 'स्क्रिप्ट' : टीभी सिरियलकी 'पहिचानविहीन' पात्रको अपराध यात्रा



सविन ढकाल

एउटा भयपूर्ण हत्याको यसरी तयार भयो 'स्क्रिप्ट' : टीभी सिरियलकी 'पहिचानविहीन' पात्रको अपराध यात्रा

'म चितवन माइती जानु छ।'

केही अघि नै कल्पनाले घरबेटी तथा छिमेकीलाई सुनाइरहेकी थिइन्। माइतीघर जाने साइत भने आइतवार बिहानसम्म जुरेन। आइतवार बिहान उनी हिँडिन्।

सरकारले एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी आवतजावत निषेध गरेको छ। त्यसैले उनको चितवनसम्मको यात्रा पक्कै सहज थिएन। त्यसका लागि उनले एउटा जुक्ति लगाइन्, एम्बुलेसन्समा जाने। पहिलेदेखि नै चिनेका एक जना व्यक्तिको एम्बुलेन्स थियो। फोन गरिन्। लाग्यो। संयोग नै हुनुपर्छ, विरामी बोकेर एम्बुलेन्स काठमाडौं आएको रहेछ।

कोठामा ताल्चा लगाएर १५ वर्षीया छोरी अनि नाबालक छोरा लिएर उनी चितवनतिर लागिन्। भाडा तिरिन् ६ हजार रुपैयाँ। चितवन पुग्नका लागि जति पनि तिर्न तयार थिइन् उनी। आखिर एम्बुलेन्स नै प्रयोग गरेर चितवन जानुको वाध्यता के थियो?

+++

आइतवार बिहान गोंगबुको नवज्योति मार्गमा प्रहरी छ्याप्छ्याप्ती थिए। टोखा नगरपालिका वडा नम्बर १० मा एक पुरुषको सुटकेसमा टाउको र खुट्टा काटिएको शव भेटिएको थियो। प्रहरीसँगै घटनाले काठमाडौंमा सबैको ध्यान खिच्यो। सुटकेसमा भेटिएको शवको बाँकी अंग खोजिरहेको थियो प्रहरी। केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जबाट तालिमप्राप्त कुकुर लिएर प्रहरी नायब निरीक्षक (सई) शंकर घिमिरेको कमाण्डमा टोली पुगेको थियो। बेलारुसबाट किनेर ल्याइएको ब्लड हाउन्ड जातको ‘जोजो’ नाम गरेको कुकुर घटनास्थल पुर्‍याइयो। कुकुरका हेन्डलर थिए, जवान जितेन्द्र बडा मगर।

शव भेटिएको स्थानमा पाइएको नाम्लो सुँघाएर कुकुरालाई छाडियो। त्यहाँबाट करीब तीन सय मिटर पर पुगेर कुकुर रोकियो। त्यहीँ फेला पर्‍यो एउटा झोला जहाँ भेटियो शरीरका बाँकी अंश।

भेटिएको शव कसको हो? किन र कसले हत्या गर्‍यो? प्रहरी यही प्रश्नको उत्तरसँगै अभियुक्तको खोज गर्न लागि परेको थियो।

आइतवार प्रहरीले छाडेको कुकुर उनी बसेकै घरतिर ओहरदोहर गरिरहेको देखेपछि उनी आत्तिएकी थिइन्। पानी परेकाले कुकुर घरभित्र छिर्न नसकेको प्रहरीको अनुमान छ।

एकाएक टुक्रा टुक्रामा भेटिएको मानिसको शवले गोंगबुबासी त्रासमा थिए। यही दृष्य आफ्नै कोठाबाट कल्पनाले पनि हेरिरहेकी थिइन्। घटना भएको २४ घण्टासम्म पनि प्रहरीले शवको पहिचान गर्न सकेन। अन्ततः प्रहरीले विभिन्न संचार माध्यम, प्रहरीकै फेसबुक पेजहरुमा मृतकको फोटो राख्यो।

शवको सनाखत नहुँदा प्रहरीको अनुसन्धान अघि बढ्न सकेको थिएन। फोटो सार्वजनिक भएपछि मृतकका मामा पर्ने एक जना व्यक्ति सम्पर्कमा आए। शवको सनाखत भयो

नाम : कृष्णबहादुर बोहोरा

घर : रुन्तीगढी गाउँपालिका वडा नम्बर ७, रोल्पा

तर, उनी दाङको घोराहीमा लामो समयदेखि घर किनेर बस्दै आएका रहेछन्। कामको मुकाम चाहिँ गोंगबुको एक होटल जहाँ ८ महिनादेखि बस्दै आएका थिए उनी। होटलमा बस्ने भए पनि उनी एक फ्याक्ट्रीमा काम गर्ने गरेको खुल्यो।

फेरि प्रश्न चाहिँ यथावत रह्यो - हत्या कसले र किन गर्‍यो?

+++

सोमवार दिउँसो प्रहरी एक्कासी कल्पनाको डेरामा पुग्यो। शव भेटिएको स्थानबाट करिब १ सय मिटरको दुरीमा रहेको साढे तीन तल्ले अग्लो घरमा उनको डेरा। शनिवार कृष्णबहादुर उनैको कोठामा गएको प्रहरीले थाहा पाएपछि त्यहाँ पुगेको थियो। तर, कल्पना कोठामा थिइनन्। त्यहाँ प्रहरीले सोधपुछ गर्दा खुल्यो - 'माइत चितवन जान्छु भन्थिन्। सायद गइन् होला।'

यहाँसम्म पुग्दा प्रहरीसामु एउटा 'क्लू' थियो - आइतवार बिहान ७ बजेतिर भेटिएको शव यही घरबाट निस्किएको हुनुपर्छ। त्यही अनुसार प्रहरीले खोजी गरेको थियो। घटना भएपछि प्रहरीले मृतकको सनाखत गर्न गोंगबु क्षेत्रका १ हजारभन्दा बढी घरमा 'सर्भिलेन्स' गरेको थियो। तर, घटनास्थल नजिकैको यो हल्का हरियो रङको घरमा भने प्रहरीको ध्यान पुगेको रहेनछ।

कल्पना नभेटिएपछि प्रहरीले अरुको रोहबरमा कोठा खोल्यो - खुलेको कोठाले घटनालाई न्यारो डाउन गर्न पर्याप्त आधार दियो। चितवन पुगेकी कल्पनालाई प्रहरीले समात्यो। साइरनवाला एम्बुलेन्सबाट माइती गएकी कल्पना काठमाडौं फर्काइन्, साइरनवाला गाडीमै। तर, यसपटक बज्ने साइरन एम्बुलेन्स होइन, प्रहरी भ्यानको थियो।

मंगलवार बिहान काठमाडौं ल्याइएकी उनलाई प्रहरीले सार्वजनिक गर्‍यो। कृष्णबहादुरको हत्या अभियोगमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय कल्पना मुडभरी (पौडेल) मास्क सहित सार्वजनिक भइन्। घटनमा उनकी १५ वर्षीया नाबालिक छोरी पनि पक्राउ परिन्। आमाले गरेको हत्यामा उनी पनि मुछिइन् जो भर्खर कक्षा दशमा पढ्दै थिइन्। कल्पनाले आखिर किन विभत्स रुपमा कृष्णबहादुरको हत्या गरिन् त?

+++

शनिवार ४५ वर्षीय कृष्णबहादुर बोहोरा गोंगबुको एक होटेलबाट स्कुटर लिएर निस्किएका थिए। बा ७२ प ५६६४ नम्बरको स्कुटर लिएर निस्किँदै गर्दा उनले होटल संचालकलाई केही दिन नआउने जानकारी दिएका थिए। रोल्पा रुन्तीगढीबाट दाङ झरेर बस्दै आएका बोहोरा कामको सिलसिलामा काठमाडौं बस्दै आएका थिए। होटलमा बस्न थालेकै ८ महिना भइसकेको थियो।

उनी स्कुटर लिएर टोखा नगरपालिका वडा नम्बर १० मा पर्ने गोंगबुमा कल्पनाको डेरामा पुगेका थिए। कल्पना र कृष्णबीच तीन वर्षदेखिको जानपहिचान रहेको खुल्यो। समयसमयमा कृष्ण कल्पनाको डेरामा पुग्ने गरेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

कल्पनासँगै १५ वर्षीय छोरी र एक नाबालक छोरा पनि थिए। बोहरा उनीहरुको कोठामा पुग्दा छोरा छोरी दुवै त्यहीँ नै थिए। बोहरालाई कल्पनाले दही, च्युरा, मासु र भोड्का खान दिइन्। कल्पनाका श्रीमान् बैदेशिक रोजागारीमा रहेकाले आउजाउ सामान्य नै थियो, त्यहाँ।

केही टेली सिरियलमा समेत अभिनय गरेकी पौडेलको काठमाडौंमा जिविकोपार्जनका लागि कुनै रोजगारी थिएन। श्रीमानले पनि दुई वर्षअघि देखि पैसा पठाउन छाडेका थिए। उनीसँग सम्पर्कसमेत हुन छोडेको देखिएको छ। डेरा भाडासमेत एक वर्षदेखि नतिरेकी रहिछिन् उनले। कोठा भाडा त टाढाको कुरा, उल्टै घरबेटीसँगै दुई लाख रुपैयाँ लिएकी रहिछिन्। निहुँ चाहिँ जेठी छोरीको बिहेका लागि। एक वर्षअघि छोरीको बिहे गर्न घरबेटीसँग उनले २ लाख रुपैयाँ लिएको अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले जानकारी दिए। उनको यस्तै प्रवृत्तिका लेनदेनका हिसाबको सूची लामो हुनसक्ने प्रहरीले जनाएको छ। 'आर्थिक लेनदेन थियो कि थिएन थप खोज्दैछौं,' एसएसपी ज्ञवालीले भने।

कृष्णबहादुरका पनि दुई श्रीमती। तर, लामो समयदेखि उनी एक्लै थिए। उनकी कान्छी श्रीमती भारतमा र जेठी दाङतिर नै छिन्। वैदेशिक रोजगारीका लागि अफगानिस्तानदेखि कुवेतसम्म चहारिसकेका थिए, उनले। करिब तीन वर्षअघि उनी नेपाल फर्किएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।

शनिवार राति ९ बजेतिर कल्पनाले दहीमा 'स्लिपिङ ट्याब्लेट' मिसाएर कृष्णलाई खान दिएकी रहिछिन्। त्यसपछि उनी लठ्ठिँदै गए। कल्पना त्यसैको प्रतीक्षामा बसिरहेकी थिइन्। जब कृष्ण आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगे, कल्पनाले फलामको हम्बरले कृष्णको अण्डकोषमा हानिन्। त्यत्तिमै उनलाई विश्वास लागेन - मर्‍यो भन्ने। त्यसपछि आफ्नो सल उनको घाँटीमा कसिन्। 'घटना योजनावद्ध जस्तो देखिन्छ। रीस उठिरहेकाले मार्ने योजना हो कि भन्ने हो,' एसएसपी ज्ञवालीले भने।

उनले दहीमा दश एमजीको ५ वटा स्लिपिङ ट्याब्लेट मिसाएको खुलेको छ। त्यसो त उनले अनिन्द्राले चेप्दा यस्तै औषधी खाने गरेको स्वीकारेकी छिन्। 'उनी पनि आफैंमा विछिप्त भएजस्तो देखिन्छ। आफैले पनि ट्याव्लेट लिने गर्थिन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

कृष्णबहादुरलाई मरिसकेपछि उनीसामु शव व्यवस्थापन चुनौतीका रुपमा खडा भयो। त्यसपछि उनले छप्काउन थालिन् खुर्पाले। तर, आवाज निस्किने डरले हुनुपर्छ, उनले छोराछोरीलाई अलग्गै कोठामा राखेर ट्वाइलेटको ढोकाको बिटमा रेट्दै काटेकी थिइन्। खुट्टा र टाउको छिनालेर 'जेब्रा' झोलामा प्याक गरिन्। अनि नजिकै लगेर फ्याँकिन्। बाँकी शरीरका अंगलाई भने उनी एक्लैले फ्याँक्ने हिम्मत गर्न सकिनन्। त्यसपछि सुटकेसमा त्यसलाई हालिन्। र, छोरीलाई बोलाइन्। 'शव व्यवस्थापनमा छोरीको सहयोग गरेको देखियो,' एसएसपी ज्ञवालीले भने। अन्तत: यसै कारण उनकी नाबालाक छोरी यो विभत्स अपराधको मतियार बन्न पुगिन्।

कृष्णबहादुरले पछिल्लो समय आफ्नो फोटो राखेर नक्कली फेसबुक आइडी बनाएको र त्यसमा अश्लिल तस्बिरहरु हाल्ने गरेकाले हत्या गरेको उनले बयान दिएकी छिन्।

'नक्कली फेसबुक आइडी बनाएर अश्लिल फोटोहरु हालेपछि घटना भएको देखिएको छ,' एसएसपी श्याम ज्ञवालीले भने। साइबर अपराधका लागि प्रहरी कहाँ उजुरी गर्न पुग्नुपर्ने कल्पनाको आपराधिक मानसिकताले उनैलाई प्रहरीकहाँ पुर्‍यायो।

टेली सिरियलमा फाट्टफुट्ट देखिने कल्पनाले 'रिल' जीवनमा कस्तो अभियनय गरिन् धेरैले हेक्का गरेनन् तर अपराधको दुनियाँमा उनको रियल अभिनय भने सबैलाई तर्साउने खाले बन्यो। जसले उनीमात्र होइन, उनको नाबालक सन्तानहरुलाई पनि घरको न घाटको बनाइ छाड्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell