PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रतिष्ठानभित्रै संक्रमित बढेपछि वीपीमा ओपीडी बन्द



पहिलोपोस्ट

प्रतिष्ठानभित्रै संक्रमित बढेपछि वीपीमा ओपीडी बन्द

विराटनगर: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द हुने भएको छ।

मंगलवार एक सूचना जारी गर्दै संक्रमणलाई फैलिन नदिन तथा रोकथाम र नियन्त्रणका लागि साउन २८ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिष्ठानको ओपीडी सेवा बन्द हुने भएको हो।

अस्पतालका सहायक निर्देशक डा. विकाश साहद्वारा जारी सूचनामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्णरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसरभित्र समेत कोरोना संक्रमण देखिएको अवस्थामा फैलिन नदिन ओपीडी सेवा पूर्णरूपमा बन्द रहने सबैलाई जानकारी गराइन्छ।’

पछिल्लो दुई साताभित्र प्रतिष्ठानमा आवासीय क्षेत्रका ११ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोठाले बताए।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, चिकित्सकका परिवारका सदस्य लगायत गरेर ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

प्रतिष्ठान आवास क्षेत्रभित्र संक्रमण देखिएसँगै अस्पतालमा आउने बिरामीलाई पनि संक्रमण देखिएको प्रवक्ता डा.सापकोटाको भनाइ छ।

‘सर्जरीका लागि आउने बिरामी, स्त्री रोगका बिरामीमा पनि पछिल्ला दिनहरुमा संक्रमण देखिएकाले ओपीडी सेवा बन्द गरिएको हो,’ उनले भने।

डा.सापकोटाका अनुसार प्रतिष्ठानमा कोभिड १९ का बिरामीको उपचार गरिन्छ। एक सय क्षमताको यस प्रतिष्ठानको आइसोलेसनमा मंगलवार दिउँसोसम्म एक सय बढी संक्रमित उपचाररत छन्।

‘एक सय क्षमताको आइसोलेसन हो हाम्रो, तर परिस्थिति अनुसार अहिले क्षमताभन्दा बढी संक्रमितहरु यहाँ उपचाररत हुनुहुन्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell