PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली फिल्मका अभिनेत्रीहरू लक्षित भिडियो निन्दनीय र आचारसंहिता विपरित : चलचित्र पत्रकार संघ



पहिलोपोस्ट

नेपाली फिल्मका अभिनेत्रीहरू लक्षित भिडियो निन्दनीय र आचारसंहिता विपरित : चलचित्र पत्रकार संघ

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले 'रजतपट' नामक कार्यक्रममा समावेश नेपाली फिल्मका अभिनेत्रीहरु लक्षित भिडियो निन्दनीय भएको जनाएको छ। मंगलवार विज्ञप्ति जारी गर्दै संघले उक्त भिडियोका कारण फिल्म पत्रकार र कलाकारबीच उत्पन्न विवादबारे ध्यानाकर्षण भएको बताएको हो।

महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा ‘संचारको कुनै पनि माध्यमबाट पत्रकारिता गर्दा जातीय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक, शारीरिक, मानसिक र स्वास्थ्य अवस्थालाई लक्षित गर्दै गरिने पत्रकारिता र प्रवृत्ति निन्दनीय' भएको जनाइएको छ। सार्वजनिक भिडियोमा पत्रकारले आचारसंहिता विपरित काम गरेका उल्लेख छ।

‘चलचित्र पत्रकारिताको नाममा आचारसंहिता विपरित कुनै पनि माध्यमबाट समाचार प्रकाशन गर्ने, भिडियो सामाग्री प्रसारण गर्नेलगायतका कार्य गरेमा क्षम्य नहुने संघको ठहर छ। सोही घटनालाई लिएर अभिनेत्री पूजा शर्मामार्फत् संघमा निवेदन प्राप्त भएको हुदाँ यस विषयमा संघले आफ्नो धारणा स्पष्ट पारेको छ’, लेखिएको छ।

सम्बन्धित कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी चलचित्र पत्रकार संघका सदस्य भने होइनन्। संघले आफ्ना सदस्य एवं अन्य फिल्म पत्रकारलाई चलचित्र पत्रकारिताको बदनाम हुने गरी पत्रकार आचारसंहिता विपरित बद्नियतपूर्ण पत्रकारिता नगर्न अनुरोध समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell