PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुगरका बिरामी बाबुलाई अस्पताल भर्नामा सकस भएपछि पूर्वमन्त्री गुप्ताको प्रश्न: कोरोना बाहेकका बिरामीले सेवा नपाएरै मर्नुपर्ने?



प्रकाश भण्डारी

सुगरका बिरामी बाबुलाई अस्पताल भर्नामा सकस भएपछि पूर्वमन्त्री गुप्ताको प्रश्न: कोरोना बाहेकका बिरामीले सेवा नपाएरै मर्नुपर्ने?

काठमाडौँः सप्तरीका श्यामसुन्दर रौनियार वर्षौँ अघिदेखि मिर्गौला तथा मधुमेहका बिरामी हुन्। ९० वर्षका उनी काठमाडौँमा डा. ऋषिकुमार काफ्ले र डा. मानबहादुर केसीको निगरानीमा थिए। लकडाउनमा सप्तरी कञ्चनपुर नगरपालिकामा रहेको आफ्नो घरमा गएका बेला आइतबार उनको एक्कासी सुगरको लेभल घट्यो। निकै असजिलो भएपछि अस्पताल लान परिवार भौँतारिए। तर सामान्य बेलाको जस्तो अस्पताल दौडाइहाल्न सजिलो थिएन। अस्पताल लैजान एम्बुलेन्स पनि सजिलै तयार भएनन्। काठमाडौँ ल्याउन पनि त्यति सजिलो कहाँ हुनु। एकातिर गाडी, पासलगायतका व्यवस्था गर्नुपर्ने थियो अर्कोतिर बाटोमै बिरामीलाई दायाँबायाँ भइहाल्छ कि भन्ने पिर। हवाईजहाज त खुलेको छैन।

बाबुलाई एक्कासी रोगले च्यापेपछि विराटनगरमा रहेका छोरा जयप्रकाश (जेपी) गुप्ता घर हान्निए। सप्तरीबाट स्वास्थ्य सेवाका लागि विराटनगर नजिक थियो। उनले विराटनगर दौडाए। अरु बेला साना-तिना उपचारका लागि भारतको सिलगुढी लैजाने भए पनि अहिले भारत लैजान पनि सम्भव भएन। घरबाट विराटनगर ल्याउन पनि सहज भएन।

बाटोमा प्रहरीले केरकार गर्‍यो। कति ठाउँमा प्रहरीलाई अनुरोध गरे। 'प्रहरीलाई हजुर भनेर कति ठाउँमा अनुरोध गरेरै आउन सफल भइयो। विराटनगर आउन पनि सजिलो कहाँ छ। काठमाडौँ लैजान सकिने त अवस्था नै छैन। त्यसमाथि हवाईजहाज बन्द छ,' उनले सुनाए।

विराटनगरका सबैजसो अस्पताल अहिले कोभिड १९ को संक्रमणका कारण सिल छन्। बिहानै सुगरको लेभल ४० मा झरेका बाबुलाई गुप्ताले निकै असहज परिस्थितिमा साँझ मात्रै विराटनगर पुर्‍याए। एम्बुलेन्समै बिरामी राखेर अस्पतालमा फोन गरे गुप्ताले। तर कुनै पनि अस्पतालले भर्ना लिन मानेनन्। अस्पतालका गेट कोभिड बाहेकका बिरामीका लागि बन्द थिए। गेटमा पुगेका बिरामीका आफन्तलाई अस्पतालले कोरोना बाहेकका बिरामीको उपचार हुँदैन' भन्दै फिर्ता गरिदिन्थे।

विराटनगरका अधिकांश अस्पताल सिल भएकाले आफ्ना बाबुलाई समयमै अस्पताल भर्ना गर्न नसकिएको गुप्ताले सुनाए।

'नोबेल मेडिकल कलेजमा कोरोनाका बिरामी देखिएपछि सिल छ। म्याक्स अस्पताल पनि सिल छ। गोल्डेन हस्पिटल पनि सिल छ। विराट हस्पिटल सिल भएर दुई दिनदेखि सञ्चालनमा आएको छ तर त्यहाँ अहिले डक्टर छैनन्,'उनले भने।

कोसी अस्पतालले पनि कोभिड १९ का केस बाहेक अरू बिरामीको भर्ना गरिरहेको छैन। धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अन्य रोगका बिरामीको उपचार गर्न मानिरहेको छैन। निकै बेर एम्बुलेन्समा बिरामी बाबुलाई राखेर अस्पताल चहारेका गुप्ताका लागि राति ८ बजे न्यूरो अस्पतालले भने केही राहत दियो तर सर्तसहित।

'उसले पनि सर्त राख्यो। कोरोनाको कुनै पनि लक्षण देखिएमा हामीले उपचार गर्दैनौँ। कोरोना होइन भने अस्पतालमा भर्ना गर्छु भनेपछि भाग्यवश मेरा पिताको ज्यान बच्यो,' उनले सुनाए।

गुप्तालाई न्यूरोका डाक्टरहरूले आधा घण्टा मात्रै ढिलो भएको भए बिरामी बचाउन सक्ने स्थिति नरहेको बताएपछि आफू भाग्यमानी ठाने र न्यूरोलाई धन्यवाद पनि।

'न्यूरो अस्पतालप्रति म निकै आभारी छु। आधा घण्टा मात्रै अरू ढिलो भएको भए मेरा पिताको ज्यान जाने रहेछ,' उनले भने।

कोरोना बाहेकका बिरामीका लागि मर्नुको विकल्प नभएको उनले बताए। 'मैले यही तीतो यथार्थ भोगेँ। स्वास्थ्य सुविधा नै सामान्य मान्छेका लागि उपलब्ध छैनन्,'उनको गुनासो छ।

पितालाई अस्पतालमा उपचार गराउन सकस भएपछि पूर्व सञ्चार मन्त्री समेत रहेका गुप्ताले राष्ट्रको स्वास्थ्य प्रणाली नै फेल भएको आरोप लगाए। कोभिड संक्रमण रोक्न मृत्युदर ०.३ प्रतिशतमा रोक्न सफल भएको सरकारको तर्कलाई उनी इन्कार गर्छन्। उनी सरकारको तर्कलाई आफूले भोगेको तीतो यथार्थले नै असफल भएको प्रमाणित गर्ने दाबी गर्छन्। २४ घण्टासम्म पनि कुनै बिरामीलाई स्वास्थ्य सेवा दिन नसक्ने राज्य स्वतः असफल भएको ठानिने उनको तर्क छ।

'कोरोनाभन्दा अरू कयौँ बिरामीका लागि अहिले स्वास्थ्य सेवा छैनन्। उनीहरूले यसैगरी मर्नु पर्ने हो?' उनले प्रश्न गरे।

गुप्ताले आफ्ना बाबुको केस कुनै प्रोपोगाण्डा नभएको बताए। उनले सरकार फेल भएको एक नमुना मात्रै भएको तर्क गरे।

न्यूरोमा उपचार गराइरहेका उनका बाबु अहिले खतरामुक्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell