PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीन वर्षअघि बेलारुसबाट ल्याइएको कुकुर जसले सुटकेसभित्र भेटिएको शवको 'केस' लगायो पार



सविन ढकाल

तीन वर्षअघि बेलारुसबाट ल्याइएको कुकुर जसले सुटकेसभित्र भेटिएको शवको 'केस' लगायो पार

काठमाडौं : आइतवार बिहान गोंगबुमा सुटकेसभित्र भेटिएको शव प्रहरीको लागि टाउको दुखाईको विषय बन्यो जब २४ घण्टासम्म ती व्यक्तिको पहिचानसमेत भएन। बल्ल २४ घण्टापछि शवको सनाखत भयो। रोल्पाका ४५ वर्षीय कृष्णबहादुर बोहोराको शव रहेछ सुटकेसभित्र। त्यसपछि भने हत्यारा पत्ता लगाउन धेरै समय लागेन। हत्या अभियोगमा चितवनकी ३७ वर्षीय कल्पना पौडेल पक्राउ परिन्।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाका एसएसपी सहितको टोली घटनाको अनुसन्धानमा लाग्यो। अन्ततः केस सुल्झियो। तर, घटनाको यो केस सुल्झाउन मुख्य 'हिरो' बन्यो 'जोजो'। जोजो अर्थात् प्रहरीको तालिम प्राप्त कुकुर। विभत्स हत्याको अनुसन्धान र्‍यापिङ हुनेक्रममा अनुसन्धानको नाम नै यही कुकुरबाट लिइयो - 'अप्रेसन जोजो'।

उमेर : करिब साढे तीन वर्ष

जातः ब्लड हाउन्ड

आइतवार गोंगबुमा भेटिएको कालो रंगको सुटकेस खोलेर हेर्दा टाउको र खुट्टा काटिएको शव थियो। बाँकी शव कहाँ छ भन्ने खुल्न सकेको थिए। कसले? किन? भन्ने प्रश्न धेरै परको कुरा। बाँकी शरीरका अंग कहाँ थियो? प्रहरीसामु खोजको चुनौती। तर, बाँकी शरीरको हिस्सा खोज्ने काम जोजोले केही मिनेटमा नै गरिदियो। यदि समयमा नै काटिकएको टाउको नभेटिएको भए, शवको पहिचान गर्ने सम्भव कम देखिनथ्यो।

'कहिले भेटिन्थ्यो भन्न सकिँदैन थियो। तर, कुकुरले जसरी काम गर्‍यो धेरै सहयोग भयो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो। तालिम केन्द्र महाराजगञ्जबाट कुकुर लिएर प्रहरी नायब निरीक्षक (सई) शंकर घिमिरेको कमाण्डमा टोली पुगेको थियो। कुकुरका हेन्डलर थिए जवान जितेन्द्र बाडामगर। जोजोले घटनास्थलबाट तीन सय मिटर पर पुगेर संकेत गरेपछि काटिएको टाउको र खुट्टा फेला परेको थियो।

त्यसपछि भने कुकुर नै ट्र्याक बिहीन बन्न पुग्यो। पानी परेकाले उसलाई ट्र्याक पक्रिन गाह्रो भएको रहेछ। सिद्धेश्वर मन्दिरबाट ट्र्याक नलिएपछि प्रहरीले त्यसैको वरपर आधार बनाएर हत्या भएको स्थान खोजी गर्‍यो। कृष्णबहादुरको हत्या भएको घर त्यहीँ वरपर थियो। 'कुकुरले सही संकेत गरेको रहेछ। त्यहीँ वरपर नै घटनास्थल भेटियो,' एसएसपी ज्ञवालीले सुनाए।

३ वर्षअघि बेलारुसबाट जोजोलाई ल्याइएको हो। काठमाडौं आइपुग्दा जोजो करिव ५ महिनाको थियो। उनका हेन्डलरले नै उनको नाम जोजो राखिदिएका थिए। 'प्रायजसो कुकुरको नामहरु उनीहरुका हेन्डलरले नै राख्ने गरेका छन्,' केन्द्रीय कुकुर तालिम केन्द्रका डीएसपी डाक्टर रामचन्द्र सत्यालले भने। पोथी र भाले गरेर दुई वटा ब्लड हाउन्ड जातको कुकुर प्रहरीसँग छ।

जोजोमा अन्य तालिमप्राप्त कुकुरको भन्दा फरक विषेशता छ। यो कुकुरले ४ दिनसम्मको घटनामा अनुसन्धान गर्न सक्छ। यसको घ्राण शक्ति अरुभन्दा बढी छ। नेपालमा ल्याएपछि यसलाई करिव एकवर्षसम्म ट्रेनिङ गराइएको थियो। जोजोले पहिले जस्तो अपराधीले छोडेको प्रमाण सुँघेर मात्र होइन अपराधीको पदचाप समेत पछ्याएर पत्ता लगाउँछ। 'हामीले कुकुरको ट्रेनिङमा पनि परिवर्तन गरकेा छौं। प्रमाण नभएको ठाउँमा अपराधीको पदचापले पनि कुकुरले ट्र्याकिङ गर्छ,' डीएसपी सत्यालले भने।                                                                   तालिम गराउँदै प्रहरी

कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र हुन्छ। अन्य कुकुरको तुलनामा ब्लड हाउन्डमा करिब ३५० मिलियन सुँघ्ने क्षमता हुन्छ। 'यसको सुँघ्ने क्षमता बढी भएकाले गर्दा नै यसले चारदिन पुरानो घटना पनि पत्ता लगाउने गर्छ,' डिएसपी सत्यालले भने।

कुकुरलाई ६ महिनाको भएपछि ट्रेनिङ दिने गरिन्छ। जोजोलाई पनि ६ महिनाको उमेरदेखि ट्रेनिङ् दिन थालिएको थियो। प्रहरीले काम देखाउन सफल भएको सोमवारको केसमा जोजोको प्रशंसनीय भूमिकामात्र रहेन, यस्ता कुकुरमा गरिएको लगानीको पनि पुनर्पुष्टि हुन पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell