PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अव्यवस्थित क्वारेन्टाइनले लियो ज्यान, उपचार गराउन मिलेन एम्बुलेन्स



कमलराज भट्ट

अव्यवस्थित क्वारेन्टाइनले लियो ज्यान, उपचार गराउन मिलेन एम्बुलेन्स

काठमाडौं : कञ्चनपुरकी राधा ओड भारतमा थिइन्। मंगलवार दिउँसो उनी गाउँ आइपुगिन्, परिवारका साथ। गाउँ अर्थात् कृष्णपुर नगरपालिका वडा नम्बर ६, मौरीफाँटा। गाउँ पुग्नुको अर्थ घर पुग्नु होइन। किनकि कोभिड-१९ फैलँदो छ। नेपाल आउने जति सबै क्वारेन्टिनमा बस्नुपर्छ। राधाको परिवार पनि बस्यो।

रोजगारीको सिलासिलामा पूरै परिवार भारत, बेङ्लोरमा थियो। राधाका श्रीमान, जेठाजु, ससुरा र डेढ वर्षीया छोरी पनि। दिउँसो करिब १ बजे आफ्नो ठाउँ आइपुगेका उनीहरू मौरीफाँटास्थति महाकाली उच्च माविको क्वारेन्टाइनमा लगियो।

दिउँसोको टन्टलापुर घाम। केहीबेर थकाई मारेपछि बच्चालाई दुध खुवाउने तयारीमा लागिन्। हातखुट्टा धुन धारामा पुगिन्। क्वारेन्टाइनमा भर्खरै मोटर जडान गरेर हाते पम्प राखिएको थियो। त्यहीँ हातखुट्टा धुन पुगेकी राधालाई करेन्ट लाग्यो। उनी भूईंमा पछारिइन्। बेहोस भइन्।

घटनास्थलमा थिए जेठाजु रवीन ओड। उनले एम्बुलेन्सको खोजी सुरु गरे। प्रहरीलाई खबर गरे। क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य चन्द्रकान्त भण्डारीलाई पनि खबर गरे। तर,निकै समय बित्दा पनि एम्बुलेन्स आएन। प्रहरीलाई खबर नगरेका होइनन् तर, सहयोग पाएनन्।

ग्रामिण भेग भएकाले सार्वजनिक सवारी चल्ने कुरै थिएन। राधा भूईंमै छट्पटाइ रहिन्। रवीनले कहिले कसलाई कहिले कसलाई फोन डायल गरिरहे। लडिरहेकी बुहारीलाई त्यसै देख्न सकेनन्। राधालाई काँधमा बोकेर अढाई किलोमिटर परको गुलरिया बजार पुर्‍याए।

आशा रहेको त्यही बजारमा पनि एम्बुलेन्स पाइएन। अटो रिक्सामा राखेर अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याए। अस्पतालले आधा घण्टा राखेपछि भन्यो - यहाँ उपचार हुँदैन। उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरियो। त्यहाँ पुर्‍याएको आधा घण्टापछि साँझ ५ बजे डाक्टरले राधालाई मृत घोषित गरे।

डाक्टरले भने - विरामी ल्याउन ढिलो भयो।

हातखुट्टा धोएर बच्चालाई खुवाउने योजनामा रहेकी राधा अन्तत: कहिल्यै नफर्किने गरी दुधे बालकलाई टुहुरो बनाएर गइन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार समयमै उपचार नपाएर राधाको ज्यान गयो।

राधाका अर्का जेठाजु देवबहादुर ओडले सोमवार नै वडाध्यक्षलाई फोन गरेर भारतबाट फर्किएका आफ्ना परिवारलाई घरमै राख्न अनुरोध गरेका थिए।

'घरमा अलग्गै बस्नदिन अनुरोध गरेको थिएँ। क्वारेन्टाइनमै बस्नुपर्ने भनेपछि राम्रो व्यवस्था गर्न भनेको थिएँ,' ओडले भने, 'धारा जडान राम्ररी गरेको रहनेछ। आज यस्तो घटना घट्यो।'

वडाको लापरवाहीका कारण आफ्नी बुहारीले ज्यान गुमाएको उनको आरोप छ।

'समयमै अस्पताल पुर्‍याउन सकेको भए बाँच्थिन्। स्थानीय सरकार मुकदर्शक बन्यो। एम्बुलेन्स नपाएर मेरी बुहारीले अकालमा ज्यान गुमाइन्,' उनले गुनासो गरे। घटना घटिसकेपछि पनि जनप्रतिनिधिले सहयोग नगरेको उनले गुनासो गरे।

'भारतबाट आएको हुनाले आफन्तको फोन नहुँदा सम्पर्क भएन,' उनले भने, 'वडा, पुलिस र नगरपालिकाले पनि भारतबाट आएको भनेर वेवास्ता गर्‍यो।'

देवबहादुरका अनुसार राधाको शवलाई सेती अस्पताको शवगृहमा राखिएको छ। शवको कोरोना परीक्षणपछि परिवारलाई जिम्मा लाउने कि सुरक्षा समितिले दाहसंस्कार गर्ने भन्ने टुंगो लाग्नेछ। राधाको पीसीआर रिपोर्ट आइसकेको छैन।

'एम्बुलेन्स बिग्रिँदा उद्धार गर्न सकेनौं'

कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नत्थुराम चौधरीले एम्बुलेन्स बिग्रिएका कारण उद्धार गर्न नसकेको बताए। उनले यो घटनालाई अप्रत्याशित भनेका छन्। ‘यो घटनाको छानबिन गछौँ,' उनले भने, ‘क्वारेन्टाइनमा करेन्ट लागेर जनताले ज्यान गुमाउन राम्रो विषय होइन।’

स्थानीयले भने लापरवाही गर्नेमाथि कारवाहीको माग गरेका छन्। कृष्णपुरका स्थानीय दिलबहादुर देउवाले एम्बुलेन्स बिग्रिँदा मेयर र उपमेयरको छुट्टै गाडी हुँदा पनि नगरवासीको उद्धारका लागि प्रयोग नगरेको गुनासो गरे।

'करेन्ट लागेका बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नभए नगर प्रमुख र उप प्रमुखको गाडी प्रयोग गर्न सकिन्थ्यो,' उनले आक्रोश पोखे, 'आफ्नो गाडी प्रयोग नगर्ने एम्बुलेन्स पनि नबनाउने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell