PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुख्यमन्त्री राईले साढे ३ महिनाअघि उद्घाटन गरेको ३ सय शय्याको कोभिड अस्पताल आएन अझै सञ्चालनमा



पहिलोपोस्ट

मुख्यमन्त्री राईले साढे ३ महिनाअघि उद्घाटन गरेको ३ सय शय्याको कोभिड अस्पताल आएन अझै सञ्चालनमा

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले साढे ३ महिनाअघि उद्घाटन गरेको लेभल–३ को कोभिड–१९ अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन।

मुख्यमन्त्री राई र मन्त्री घिमिरेले गत वैशाख ११ गते धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन गरेको कोभिड–१९ अस्पताल सञ्चालनमा आउन नसकेको हो।

उद्घाटनका अवसरमा मुख्यमन्त्री राई र मन्त्री घिमिरले यस अस्पताललाई ३ सय शय्याको कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरिने घोषणा गरेका थिए।

मन्त्री घिमिरेले प्रतिष्ठानमा प्रदेश सरकारको १२ करोड ५० लाख रुपैयाँका लागतमा आइसियुमा १३ वटा शय्या, सिटी स्क्यान, अल्ट्रासाउन्ड, अप्रेसन थिएटर, एक्स–रे मेसिन, गाइनो, पेडियाट्रिक र प्रयोगशालासहितको कोभिड–१९ अस्पताल निर्माण गरिएको जानकारी दिएका थिए।

यसको लगत्तै वैशाख १२ गते केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बीपीको कोभिड अस्पताल सञ्चालनमा आएको जनाएको थियो। तर दुवै प्रदेश र सङ्घ दुबै स्तरका सरकारबाट औपचारिक रूपमा घोषणा भएको साढे ३ महिना पुगिसक्ता पनि अस्पतालको सञ्चालन हुन सकेको छैन। हाल प्रतिष्ठानको पेइङ वार्डमा निर्माण गरिएको आइसोलेसनमा कोरोना सङ्क्रमित राखिएको छ।

प्रदेश सरकारले बीपी प्रतिष्ठानमा ३ सय शय्याको कोभिड अस्पताल सञ्चालन भएको जानकारी गराए पनि हाल त्यहाँ कोरोना सङ्क्रमितका लागि ९० सिटमात्र छन्। सबै सिट भरिएपछि बीपी प्रतिष्ठानले सङ्क्रमितहरूलाई आफ्नै घरमा आइसोलेसनमा बसेर उपचार गर्न सुझाव दिइरहेको छ।

उद्घाटन भएको साढे ३ महिना बितिसक्ता पनि अस्पताल सञ्चालन हुन नसक्नुमा प्रदेश सरकार र प्रतिष्ठानका पदाधिकारीको अक्षमता हो भन्ने आरोप सरोकारवालाले लगाएका छन्।

‘प्रदेश सरकार र बीपी प्रतिष्ठानका पदाधिकारी अक्षम साबित भएका छन्,’ धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले पहिलोपोस्टलाई भने, ‘प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले कोभिड अस्पतालको सञ्चालनमा खासो चासो नदिएको अनुभव हामीले गरेका छौँ। यसका कारण अस्पताल सञ्चालन सकेन र कोरोनाका पीडितहरू आफ्नो घर वा डेरामै बसेर उपचार गर्न बाध्य भइरहेका छन्।’

‘प्रतिष्ठानको सिनेट सदस्य म पनि हुँ,’ मेयर राईले भने, ‘तर यति बेला सिनेटको बैठक गर्न काठमाडौं जानुभन्दा पनि महामारी नियन्त्रण गर्न आफ्नै ठाउँमा खटिनु महत्त्वपूर्ण हो। मैले सिनेटको बैठक तत्काल स्थगित गरौँ भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि बीपी प्रतिष्ठानसम्मका पदाधिकारीलाई अनुरोध गरेँ तर कसैले सुनेनन् र टेरेनन्। तर, म सिनेटको बैठकमा भाग लिन गइँन।’

राईका अनुसार धरानमा हाल १८ जना कोरोना सङ्क्रमित घरमै बसेर उपचार गरिरहेका छन्। उपमहानगरपालिकाले हरियाली सामुदायिक वनको भवनमा २३ बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। एक हप्ताभित्र निर्णय कार्यान्वयन भइसक्छ।

प्रतिष्ठानले प्राविधिक समस्याले गर्दा कोभिड अस्पतालमा सङ्क्रमित भर्ना गर्न ढिलो भएको जनाएको छ।

प्रतिष्ठानका रजिस्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले भने, ‘अस्पतालको लागि खरिद गरिएकन उपकरण अझै आइसकेका छैनन्। त्यसैले कोभिड अस्पताल पूर्ण रूपमा सञ्चालन हुन विलम्ब भएको हो।’

नेपाली काङ्ग्रेस निकट सङ्गठनहरूले साढे ३ महिनाअघि उद्घाटन गरिएको प्रतिष्ठानको कोभिड अस्पताल अझै सञ्चालनमा नआएको भन्दै विरोध जनाएका छन्।

नेपाल तरुण दल धरान नगर समिति र महेन्द्र क्याम्पसको नेविसङ्घ समर्थित स्ववियूले प्रतिष्ठानका उपकुलपतिका कार्यालयमा मङ्गलबार विरोध गर्दै तालाबन्दी गरेका थिए। बन्द गरिएको ताला बुधबार प्रहरीले तोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell