PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णालीमा स्थापना भएको राष्ट्र बैंक शाखाको न पूर्वाधार, न जनशक्ति, प्रमुख भन्छन् : म्यान्डेट पाएअनुसार काम गर्न सकिएन



पी बी खड्का

कर्णालीमा स्थापना भएको राष्ट्र बैंक शाखाको न पूर्वाधार, न जनशक्ति, प्रमुख भन्छन् : म्यान्डेट पाएअनुसार काम गर्न सकिएन

सुर्खेत : कर्णाली प्रदेशका दश जिल्ला हेर्ने गरी स्थापना भएको सुर्खेतस्थित राष्ट्र बैंक शाखा आफैँ थला परेको छ। गत कात्तिक महिनामा स्थापना भएको नेपाल राष्ट्र बैंकको सुर्खेतस्थित प्रदेशस्तरीय शाखा जनशक्ति अभाव र पूर्वाधार कमीले आफैँ थला परेको हो।

प्रदेशका दश जिल्लामा भइरहेका आर्थिक गतिविधिको अध्ययन गर्ने र प्रदेश सरकारको सञ्चित खाताहरु राष्ट्र बंैकबाट सञ्चालन गर्ने भनेर स्थापना भएपनि अहिलेसम्म कुनै काम नै गर्न सकेको छैन। प्रदेश कार्यालयमा अहिले कार्यालय प्रमुख सहित तीन जना कर्मचारी छन् भने बैंकमा पैसा राख्ने ढुकुटी समेत छैन। बैंकको न आफ्नै भवन छ न पर्याप्त जनशक्ति, जसले गर्दा राष्ट्र बैंकले प्रवाह गर्नुपर्ने न्यूनतम बैंकिङ कारोबार समेत गर्न सकेको छैन।

‘प्रदेशमा भइरहेका आर्थिक गतिविधिको अध्ययन गर्ने पहिलो म्यान्डेट हो भने दोस्रोमा प्रदेश सरकारको सञ्चित खाताहरु राष्ट्र बैंकबाट सञ्चालन गर्ने भनेर स्थापना भयो’, नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयका प्रमुख डा शालिकराम पोखरेलले भने, ‘जुन काम गर्ने भनेर बैंक स्थापना भएको त्यो अनुसारको काम अहिले गर्न सकिएको छैन।’

केन्द्रबाट म्यान्डेट दिएर पठाएपनि त्यो अनुसारको जनशक्ति र पूर्वाधार नहुँदा काम गर्न नसकिएको उनले बताए। कार्यालय स्थापना गर्ने क्रममा भौतिक पूर्वाधार नभइसकेको हुँदा पैसा राख्नका लागि ढुकुटी समेत छैन।

‘पैसा राख्नका लागि ढुकुटी चाहिन्छ त्यो हामीसँगै छैन। ढुकुटी पनि भौतिक रुपमा सुरक्षित हुनु आवश्यक हुन्छ भने सुरक्षाकर्मी पनि चाहिन्छन’, उनले भने, ‘हामीले भाडामा लिने भौतिक संरचना पनि प्रयास गर्दा गर्दै उपलब्ध हुन सकेको  छैन।’

प्रदेशस्तरीय राष्ट्र बैंकको आफ्नै भवन समेत छैन। बैंक अहिले मासिक ६५ हजार भाडा तिर्ने गरी बसेको छ। कार्यालय स्थापना भइसकेको लामो समय बितिसक्दा पनि प्रदेशको अर्थ सम्बन्धी कुनै पनि तथ्यांक संकलन गर्न सकेको छैन।

‘आर्थिक गतिविधिहरुमा पनि प्रदेश संरचना नयाँ हुँदा पहिले जिल्लाका तथ्यांकहरु निर्देशनालयमार्फत राख्ने काम भइरहेको  छ। अर्ध वार्षिकरुपमा हामीले आर्थिक गतिविधिको अध्ययन गर्नुपर्ने हो। सरकारसँगै तथ्यांक उपलब्ध नभएपछि हामीसँग तथ्यांक छैन’, प्रमुख डा पोखरेलले भने, ‘रेमिट्यान्सको तथ्यांक पनि प्रदेश सरकारले बल्ल व्यवस्थापन गर्दै छ। त्यस्ता तथ्यांक नभइकन हामीले निकाल्न सक्ने अवस्था रहेन। अब आउने वार्षिक गतिविधि अध्ययनमा कसरी हुन्छ सबैलाई समावेश गरेर लैजाने भनेर पत्राचार गरिसकेको अवस्था छ।’

प्रदेश कार्यालयका लागि आवश्यक जनशक्ति माग गरिएको र जग्गा खरिद गर्ने योजना समेत अघि सारिएको बैंकले जनाएको छ।

‘आर्थिक गतिविधि अध्ययनकै लागि वार्षिक रुपमा दश जिल्लामा दुई/दुई जना खटाउनुपर्ने हुन्छ। दश जिल्लाको आर्थिक गतिविधि अध्ययन गर्न जुनरुपमा म्यानपावर चाहिन्थ्यो त्यो छैन। मैले माथि माग गरेको छु’, उनले भने, ‘तत्काल आर्थिक गतिविधि अध्ययन र सञ्चित खाताको कारोबार यहाँबाट (अहिले बसिरहेको स्थान) गर्ने पछि विस्तारै राष्ट्र बैंकको जग्गा खरिद गरेर आफ्नै भवन भयो भने आफ्नै संरचनाहरु हुन्छ अनि मात्रै अन्य बैंकिङ कारोबार गर्न सहज होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell