एक वर्षअघि राजधानी काठमाडौँमा चिनियाँ ह्याकरले बैंक एटीएम ह्याक गरे। पैसा चोरिरहेको अवस्थामा दरबारमार्गबाट चिनियाँ नागरिक पक्राउ पनि परे। तर समातिएका उनीहरुसँग सोधपुछ गर्ने जनशक्ति प्रहरीसँग थिएन। कारण - भाषा।
त्यसपछि दोभाषे ल्याएर सोधपुछ गरियो। पछि नेपाल प्रहरीले विमानस्थल, अध्यागमनलगायत ठाउँमा खटिने प्रहरीलाई चिनियाँ भाषा तालिम दियो। त्यतिबेला उत्तरी छिमेकी चीनको भाषा जान्ने सुरक्षाकर्मी राजधानीमै थिएनन्। झन् सीमामा के होला?
अहिले सशस्त्र प्रहरी बल नेपालले चीनसँग जोडिएको सीमामा धमाधम बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिरहेको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले बोर्डरमै संयुक्त गस्ती पनि गर्नुपर्छ। गरिरहेको पनि छ। यस्तो बेला खाँचो पर्छ भाषा। भाषागत ज्ञान नहुँदा दुबै देशका सुरक्षाकर्मीले सीमामा समस्या झेल्दै आएका छन्।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकका अनुसार चीनतर्फ सीमामा चार वटा बीओपी स्थापना भएका छन्। अझै थप पाँच वटा स्थापना हुने क्रममा छन्। कोरोना महामारीका कारण पोस्ट स्थापनामा केही ढिलाई भएको हो।
दार्चुलाको छाङरु (अब गुल्म बन्दैछ), हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ (कोरला) र संखुवासभाको किमाथांकामा बीओपी स्थापना भइसकेको छ। त्यसैगरी चीनसँग जोडिएका जिल्लामा ९ वटा गुल्म छन्।
कहाँ कस्तो समस्या?
हुम्ला, हिल्सा
चीनसँग जोडिएका जिल्लामध्ये बढी चहलपहल हुने जिल्ला हो हुम्ला। हिल्सा नाका कैलाश मानसरोवर यात्राका लागि प्रमुख मार्ग हो। चीनको ताक्लाकोट हुँदै मानसरोवर यात्रा गरिन्छ। अहिले यात्राको सिजन भए पनि कोभिड महामारीले रोकिएको छ।
हिल्साबाट ताक्लाकोट २८ किलोमिटर दूरीमा पर्छ। यो नाका सुरक्षा संवेदनशीलताका हिसाबले पनि महत्वपूर्ण छ। मानसरोवर यात्राका लागि भारतीय बढी आउँछन्। त्यसमा ‘फ्रि तिब्बत’ मुभमेन्टमा घुसपैठ हुनसक्ने जोखिम पनि उतिकै हुन्छ। त्यसैले चिनियाँहरु अलर्ट हुन्छन्। सूचनाका लागि नेपाली प्रशासनसँग उच्च सहकार्यमा हुन्छन्। सीमामा भने सशस्त्र प्रहरी खटिन्छ। चिनियाँ सेना र सशस्त्रबीच सहकार्य हुन्छ। तर सहकार्यमा भाषा बाधक बनिदिन्छ।
दुबै पक्षले एकअर्काको कुरा राम्ररी बुझ्दैनन्। सहारा लिनुपर्छ स्थानीयको। संवेदनशील नाका भएकाले स्थानीयलाई पनि सोझै विश्वास गर्न सकिने अवस्था छैन।
‘मुख्य समस्या भनेको भाषाकै हो। जस्तोसुकै चिनियाँ आए पनि भाषामा कमजोर नै हुन्छ,’ हुम्लाका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहन विष्ट भन्छन्, ‘अंग्रेजी बोले पनि बुझ्न गाह्रो हुन्छ। प्रष्ट बोल्दैनन्। भोटे बोल्यो भने त हामी बुझ्दैनौँ। अर्को दोभाषेले हामीलाई ठ्याक्कै भन्यो कि भनेन शंका हुन्छ। भाषालगायत अन्य कारण उनीहरुसँग धेरै अट्याच हुन सकिएको छैन।’
उनका अनुसार चीनतिर ठ्याक्कै दोभाषे त हुँदैन। तर दार्चुला-बझाङ हेर्नेगरी एक जना लिहाजन अफिसर हुन्छ, सिनियर इन्सपेक्टर। उनले अंग्रेजी र चाइनिज मात्र बोल्छन्। हुम्ला व्यापारीक नाका भएकाले दुई जना (गुरु र नाम्खे भन्ने) दोभाषे चिनियाँ पक्षले राखेको छ, नेपाली र हिन्दी बोल्ने।
‘उनीहरुले हामीसँग बोल्न अफिसरबाट अनुमति लिनुपर्छ। हामीले गेटमा गएर के छ भन्यौँ भने अनौपचारिक कुरा गर्छन्। मुद्दामा औपचारिक कुरा गर्दैनन्। हाम्रो पनि त्यही हो,’ उनले भने।
डीएसपी विष्टका अनुसार हिन्दी बोल्ने दक्षिण भारतको महेश्वर भन्ने कलेज पढेर आउँछन्। ‘त्यहाँ लामा पढ्छन्। बुट्टा कोर्ने, थाङ्का बनाउने, लामा लिपी लेख्ने शिक्षा पढाइँदो रहेछ। हुम्लाका भोटेहरु त्यहाँ पढ्दा रहेछन्। राम्रो अंग्रेजी बोल्छन्। नेपाली कम बोल्छन्। खाम भाषा पनि बोल्छन्। वारिपारिको भाषा पनि मिल्छ,’ उनले भने।
विष्टको अनुभवमा प्रहरीलाई कहिलेकाहीँ समस्या पर्दा संवाद गरिदिने नै स्थानीयले हो। ‘त्यहाँ जाने अफिसरलाई अंग्रेजी बोल्न आएन भने नेपाली, हिन्दी बोलिदियो भने सहज हुन्छ। उनीहरु उपस्थित नहुँदा वारिबाट भोटे लगेर संवाद गर्छौं,’ उनले सुनाए।
द्विपक्षीय लेभलको कुराकानीमा प्राप्त सूचनाहरुको बारेमा सामूहिक छलफल हुन्छ। ‘जिल्ला लेभलमा दुर्घटना, महामारीलगायतका घटनाका विषयमा उनीहरुले स्थानीय बासिन्दा, आफ्नो स्रोत र अफिसियल रुपमा हामीलाई सोध्न सक्छन्,’ उनले भने, ‘हामीले सोध्दा पनि दिन मिल्ने सूचना दिन्छ। तर प्रायजसो सूचना लुकाउँछन्। यद्यपि आवश्यकता अनुसार जसलाई जति चाहिने हो त्यति सूचना दिन्छन्।’
सहयोगी चिनियाँ
हुम्लामा सीमा विवाद खासै मुद्दाका रुपमा छैन। पिल्लर पनि हराएका छैनन्। हुम्लामा कार्यरत सशस्त्र प्रहरी अधिकारीका अनुसार चिनियाँ सुरक्षाकर्मी र प्रशासन नेपालीलाई सहयोगीको दृष्टिकोणले हेर्छन्।
‘सहयोगी हुन्छन्। समस्या पर्दा अघि सर्छन्। नेपालीलाई हेर्ने दृष्टिकोण राम्रो छ। हामी साथी साथी हो भन्छन्,’ सशस्त्र प्रहरी प्रमुख विष्टले अनुभव सुनाए।
उनका अनुसार सीमा जोडिएका नेपालका प्रत्येक जिल्लालाई चीनले वर्षमा एकपटक खाद्यान्न दिन्छ। दार्चुला, बझाङ, हुम्ला, मनाङ, मुस्ताङ, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा खाद्यान्न दिने गरेको छ।
सुरक्षाकर्मीमात्रै नभई जनस्तरमा पनि चीनको सहयोग रहने गरेको छ। यसपाली कोभिड महामारीमा जिल्लालाई मास्क, पीपीई, आरडीटी र पीसीआर किटहरु चीनले सहयोग गरेको छ।
सीमामा देखिएका समस्यालाई दुबै देशको बैठकमा प्रस्तुत गर्ने र समाधान गरिँदै आएको छ। ‘सामान्तया ६/६ महिनामा सीमा बैठक बस्छ। समस्या भए बैठकबाट हल गरिन्छ।’ तर हालसम्म त्यस्तो विवाद देखिएको छैन।
अहिले कोभिडका कारण भने बैठक हुन सकेको छैन। मानसरोवर जाने यात्रु छैनन्। ल्हासामा नोभेम्बर अन्तिम साताको बैठक स्थगित भएको छ। बैठकमा हुम्लाका साथै दार्चुला र बझाङका अधिकारी समेत आउने डीएसपी विष्ट बताउँछन्।
बैठकमा दुबै पक्षबीच सीमामा देखिएका समस्यामा कसरी सहयोग गर्ने, पेट्रोलिङमा कसरी जाने, कोभिडमा दुबै देशले आफ्नोतिर नियन्त्रण गर्ने, समुदायमा फैलिन नदिने कुरामा छलफल हुँदै आएको छ।
चिनियाँ सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीलाई पनि सहयोग गर्दै आएका छन्। हिल्सामा खटिएका सुरक्षाकर्मीलाई आपतकालीन अवस्थामा उपचार गरिदिने तथा खाद्यान्न सहयोग गर्दै आएको छ चीनले।
शंकाको दृष्टिमा भारतीय
चीनसँग जोडिएको नाम्खाको ५ हजार जनसंख्या छ। ५ वटा वडा छन्। यसमै पर्छ हिल्सा। यहाँ सबै भोटेहरु बस्छन्। अधिकांश हिउँदमा काठमाडौँमा बस्छन्। वर्खामा व्यापारका लागि बस्छन्। जडिबुटी व्यापार गर्छन्। हुम्लाको जनसंख्या १२ हजार छ।
हिल्सामा नेपालीभन्दा बढी भारतीयले आवतजावत बढी गर्छन् मानसरोवर यात्राका लागि। सीमामा खटिने एक जवानका अनुसार भारतीयहरु चिनियाँको कडा निगरानीमा हुन्छन्।
‘भारतीयलाई लाइन लगाएर जाँच गरिन्छ। डार्क रुममा महिलालाई महिला सुरक्षाकर्मी र पुरुषलाई पुरुष सुरक्षाकर्मीले खानतलासी लिन्छन्। शंका लागे नेपालीलाई पनि गर्छन्। उनीहरुको सुरक्षामा कुनै कम्प्रमाइज हुँदैन,’ ती जवानले भने।
उनका अनुसार नेपालीहरुलाई पारि जान अनिवार्य पासको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले ६ महिनाको पास दिन्छ। भारतीय भने मानसरोवर यात्राका लागि भिसा लगाउँछन्।
मुस्ताङ छैन भाषाको समस्या
मुस्ताङको कोरला नाका नजिकै नेचुङमा भर्खरै सशस्त्र प्रहरीको बीओपी स्थापना भयो। यसअघि कोरलामा गुल्मबाटै गस्ती हुन्थ्यो। यहाँ भने भाषाको समस्या छैन।
मुस्ताङका सशस्त्र प्रहरी डीएसपी आनन्द थापामगरका अनुसार चिनियाँहरुले यहाँ दोभाषे राखेका छन्।
‘सामान्यतया बोर्डरमा हामी नेपाली बोल्छौँ। चिनियाँहरुको दोभाषे हुन्छ। हामीले नेपाली बोलेको उसले चिनियाँ भाषामा उल्था गरिदिन्छ। चिनियाँ अंग्रेजी धेरै बुझ्दैनन्। हामीले मिडियटरका रुपमा स्थानीयको सहयोग पनि लिने गरेका छौँ,’ उनले भने। थापामगरका अनुसार कोरोनाका कारण चीनले हाल सीमा सिल गरेको छ। संयुक्त पट्रोल गस्ती पनि हुन सकेको छैन।
संखुवासभामा छैनन् दोभाषे
संखुवासभामा दोभाषेको व्यवस्था छैन। तर भाषा नबुझ्नाले समस्या नै परेको छैन। यहाँ स्थानीय तहका जनप्रतिनिधि र शिक्षकको सहयोग लिइएको छ भाषा बुझ्न र बुझाउन। पुस २९ गते बीओपी स्थापना भएको किमाथांका नाकामा चिनियाँसँग वडाध्यक्ष र स्कुलका प्रधानाध्यापकका माध्यमबाट संवाद् गरिँदै आएको छ।
संखुवासभा डीएसपी बासु महतले भने, ‘हामीले भनेको बुझ्दैनन्। अंग्रजी पनि टु वे हुँदैन। हाम्रो अंग्रेजी उनीहरुले बुझ्दैनन्। भोटखोला गाउँपालिकाका स्थानीय, वडाध्यक्ष, स्कुलका प्रधानाध्यापकको सहयोगमा चिनियाँहरुसँग कुरा गर्छौँ।’
महतका अनुसार माघदेखि ५ सीमा नाका बन्द छन्। ‘बोर्डर बन्द हुँदा चिनियाँसँग त्यस्तो काम परेको छैन। चिनियाँको दोभाषे पनि छैन। उनीहरुले पनि यहाँको हाम्रै लोकलमार्फत कुरा गर्छन्। उनीहरुको हाम्रो जस्तो चाँडो चाँडो सरुवा हुँदैन। यहाँका स्थानीयसँग राम्रो चिनजान हुन्छ। स्थानीय धेरैले उताको भाषा बोल्छन्। म यहाँ आएको एक वर्ष भयो। भाषाका कारण काममा बाधा परेको छैन। कम्युनिकेसनमा समस्या आएको छैन,’ उनले भने।
चीन र भारत दुबैसँगको लफडामा दार्चुला
चीन र भारतसँग सीमा विवाद झेलिरहेको जिल्ला हो दार्चुला। यहाँको तिंकर चीनको ताक्लाकोटसँग जोडिन्छ। यहाँका शौका समुदाय ताक्लाकोटामा व्यापार गर्छन्। यहाँको छाङरुमा हालसालै बीओपी स्थापना गरिएको छ। छाङरुबाट भर्खरै सशस्त्र टोलीले नेपाल चीन एक नम्बर पिल्लरमा गस्तीसमेत गरेको छ। अब तिंकरमै बीओपी स्थापना हुँदैछ। तर यहाँ चिनियाँ सीमा सुरक्षाकर्मीसँग सूचना आदानप्रदान नेपाल प्रहरीले गर्दै आएको छ। तिंकरमा प्रहरी चौकी छ।
सशस्त्र प्रहरी बल ४० नम्बर गुल्म दार्चुलाका प्रमुख डीएसपी डम्बरबहादुर विष्टका अनुसार ताक्लाकोटमा भएको चिनियाँ प्रहरीले तिंकरको नेपाल प्रहरी चौकीमार्फत सूचना आदानप्रदान गर्छ। प्रहरी चौकीले सशस्त्रलाई सो सूचना दिन्छ।
‘सामान्य अंग्रेजीमा कुरा हुन्छ। एस, नो भन्छन्। चिनियाँहरुले बढी चासो राख्छन्, फोन गर्छन्,’ उनले भने, ‘जिल्लाको वस्तुस्थिति, सुरक्षा स्थिति, हिमपातबारे जानकारी माग्छन्। अहिले कोभिड महामारी छ, मान्छे आउन नदेऊ भन्ने आग्रह गरेको छ।’ विष्टले तिंकरमा बीओपीका लागि भन्सारको जग्गा एपीएफको नाममा पास भएको र त्यहाँ एक करोड बजेटमा आधुनिक भवन निर्माण हुने बताए।
तालिमको तयारी, पाठ्यक्रम तयार
सशस्त्रका प्रवक्ता डीआईजी राजु अर्यालले छिमेकी देशका सुरक्षा अधिकारीसँग समन्वय तथा सम्पर्कका लागि भाषा तालिम दिने तयारी भइरहेको बताए।
‘काउन्टरपार्टसँग सहजै संवाद गर्न सक्नेगरि भाषा तालिम दिने तयारी भइरहेको छ। पाठ्यक्रम बन्ने चरणमा छ। भदौ अन्तिम साताबाट प्रशिक्षण सुरु गर्छौँ,’ अर्यालले भने।
उनका अनुसार नेपालसँग सीमा जोडिएका भारत र चीनलाई लक्षित गरी ५ भाषामा पाठ्यक्रम तयार भइरहेको छ। ‘भाषागत तालिम दिन पाठ्यक्रममा ५ भाषा छनोट गरिएको छ। चीनतर्फका लागि चिनियाँ र तिब्बती भाषा र भारततर्फ हिन्दी, मैथली र भोजपुरी भाषामा पाठ्यक्रममार्फत प्रशिक्षण दिइनेछ,’ डीआईजी अर्यालले भने।
हाल अंग्रेजीबाट कामचलाउ रुपमा संवाद भइरहेको उनको भनाई छ। ‘संवादमा खासै समस्या परिराखेको छैन। स्थानीय भाषा जान्ने मान्छे र हाम्रा जनशक्तिहरुले अंग्रेजीबाट काम चलाइरहेका छन्,’ उनले भने, ‘भाषा तालिमपछि अझै सहज हुनेछ।’
नेपाल प्रहरी पनि काम चलाउमा
चिनियाँ सीमामा नेपाल प्रहरी पनि रहँदै आएको छ। प्रहरी चौकीमार्फत चिनियाँसँग सम्पर्क रहने गरेको छ। तर काम चलाउ स्थितिमा। न दोभाषे छ न त भाषा जान्ने कर्मचारी।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत चिनियाँहरुसँग कुरा गर्न प्रहरीले स्थानीयको सहयोग लिने गरेको बताउँछन्।
‘चिनियाँ अंग्रेजी पनि बोल्छन्। नेपाली पनि बोल्छन्। नेपाली सुरक्षाकर्मी स्थानीयको सहयोग लिन्छन्। अंग्रेजी बोल्छन्,’ उनले भने, ‘तातोपानीतिरका सुरक्षाकर्मी चिनियाँ भाषा पनि बोल्छन्। छुट्टै निश्चित व्यक्ति तोकिएको छैन। कामचलाउ छ।’