PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बेलायत लैजाने भन्दै युएई पुर्‍याएर अलपत्र, ‘पासपोर्ट लिन बोलाएर सांघातिक हमला’



पहिलोपोस्ट

बेलायत लैजाने भन्दै युएई पुर्‍याएर अलपत्र, ‘पासपोर्ट लिन बोलाएर सांघातिक हमला’

काठमाडौं : बेलायत लैजान भन्दै संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र पारिएका एक नेपालीलाई ठगी गिरोहले सांघातिक हमला गरेको छ। पीडित व्यक्तिले अबुधाबीस्थित नेपाली दूतावासमा उजुरी समेत गरेका छन्। दूतावासले ठगीको निवेदन प्राप्त भएको जनाएको छ। दूतावासले विज्ञप्तिमार्फत घटना विवरण पनि सार्वजनिक गरेको छ। 

तर, ठगीमा संलग्न भएको भनिएको नेपालस्थित मेनपावर कम्पनी र पीडित दुबैको नाम खुलाइएको छैन। २०७६ मंसिर ८ गते बेलायत लैजाने भन्दै पीडितलाई ठगी गर्ने समूहले युएई पुर्‍याएको थियो। प्रतिव्यक्ति ९ लाख रुपैयाँका दरले रकम असुलेको पीडितहरुले दूतावासमा पेस गरेको निवेदनमा जनाएका छन्।

युएई पुर्‍याएपछि भने बेलायत पठाउन नसकिएकाले त्यहीँ राम्रो रोजगारी दिने आश्वासन उक्त समूहले दिएको थियो। गिरोहले पासपोर्ट भिसालगायतका कागजात समेत नियन्त्रणमा लिएको थियो। 

रोजगारीका लागि तयार भएको अफर लेटर र भिसा समेत नक्कली भएको जानकारीपछि पीडितले पासपोर्ट र भिसा माग गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ। नेपाल फर्कनका लागि कागजात माग गरेकोमा लिन बोलाई पीडितमाथि नै आक्रमण भएको व्यहोराको निवेदन प्राप्त भएको पनि दूतावासले जनाएको छ। 

दूतावासले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक निकायबाट जानकारी लिन पनि सबैलाई आग्रह गरेको छ। सत्यतथ्य नबुझ्दा ठगिने क्रम बढेको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell