काठमाडौं : कोभिड १९ का कारण खराब अवस्था झेलिरहेका मुलुकहरुको सूचीमा ३० लाख भन्दा धेरै संक्रमित हुने मुलुक दोस्रो थपिएको छ। अमेरिकालाई पछ्याइरहेको ब्राजिलमा संक्रमित संख्या ३० लाख पार भएको हो।
यसअघि अमेरिकामा मात्रै यो सीमाभन्दा धेरै संक्रमित थिए। यो सीमालाई छिमेकी मुलुक भारतले छिट्टै भेट्ने छ। अमेरिकामा संक्रमितको संख्या ५२ लाख नजिक पुगिसकेको छ। दोस्रो स्थानमा रहेको ब्राजिलमा यो संख्या तीब्र गतिमा बढिरहेको छ। त्यहाँ ३१ लाख ९ हजार ६ सय ३० संक्रमित छन्।
भारतमा संक्रमितको संख्या २३ लाख २९ हजार ६ सय ३० रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ। चौथो स्थानमा रसिया छ जहाँ ९ लाख संक्रमित छन्। संक्रमितको संख्या नियन्त्रण गर्ने मामिलामा रसिया अहिले बलियो देखिएको छ। साथै कोभिड १९ विरुद्धको खोप विश्वमै पहिलो पटक आफूले तयार गर्न सकेको भन्दै त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक गरेका छन्।
