काठमाडौं : कोभिड १९ संक्रमितको मृत्यु रफ्तार विश्वभर तीब्र गतिमा बढिरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ७ लाख ४५ हजार ९ सय २३ कोरोना भाइरस संक्रमितको ज्यान गइसकेको छ।
मृत्युको यो रफ्तारमा अमेरिका सबैभन्दा अगाडि छ। छिमेकी मुलुक भारत पनि खराब अवस्थाको यो दौडमा तीब्र गतिमा अगाडि बढिरहेको छ। भारतमा ४७ हजार भन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुने संख्या दिनानुदिन बढिरहेको छ।
४७ हजार भन्दा धेरैले ज्यान गुमाउँदा कोरोना संक्रमणबाट मृत्यु हुने मानिसको संख्याका आधारमा तय भएको सूचीमा भारत एक कदम अगाडि बढेको छ। मृत्यु रफ्तारमा बेलायतलाई भारतले पछि पारेको हो।
संक्रमितको संख्या जस्तै मृत्यु धेरै हुने मुलुकमा अमेरिका र ब्राजिलकै अग्रता छ। अमेरिकामा १ लाख ४५ हजार ९ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ। ब्राजिलमा १ लाख ३ हजार २६ जनाले ज्यान गुमाइसकेका छन्। मेक्सिकोमा मर्नेहरुको संख्या ५३ हजार ९ सय २९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।
भारतको टाइम्सअफ इन्डियाले जनाएअनुसार भारत मृत्यु धेरै हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ। बेलायतलाई पछि पार्दै भारत एक कदम अगाडि देखिएको हो। बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ४६ हजार ७ सय ९१ रहेको छ। त्यहाँ मृत्यु दर पहिलेको तुलनामा कम हुँदै गइरहेको छ। यता भारतमा भने मृत्यु हुनेदर बढ्दो छ।
