काठमाडौं : महानगरीय प्रहरी कार्यालय, रानी पोखरीमा कार्यारत प्रहरीमा कोरोना देखिएपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ।
केही दिनअघि कार्यालयमा प्रहरीको कपाल काट्ने नाई र कन्ट्रोल रुममा काम गर्ने तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।
उनीहरुमा कोरोना देखिएपछि कार्यालय प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीका डीआइजी विश्वराज पोखरेलले जानकारी दिए।
'संक्रमणको जोखिमलाई ध्यान दिँदै केही समयलाई सर्वसाधारणका लागि रोक लगाइएको छ,' डीआइजी पोखरेलले भने।
कार्यालयमा कार्यरत ३० जना भन्दा बढी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको आइतवार स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ। पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिने क्रम बढेर गएको छ।
