PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

खोई मुख्यमन्त्रीको आश्वासन? अक्सिजन नपाएर मर्दैछन् विराटनगरको कोभिड अस्पतालमा संक्रमित



अनन्तराज न्यौपाने

खोई मुख्यमन्त्रीको आश्वासन? अक्सिजन नपाएर मर्दैछन् विराटनगरको कोभिड अस्पतालमा संक्रमित

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चैत २१ गते विराटनगरमा कोभिड–१९ अस्पतालको उद्घाटन गर्दै कडा स्वरमा भनेका थिए, ‘यस प्रदेशमा अब कसैले पनि बिना उपचार कोभिड–१९ का कारण ज्यान गुमाउनु पर्ने छैन।’

मुख्यमन्त्री राईको कथनको ठीक विपरीत विराटनगरको कोभिड–१९ अस्पतालमा भर्ना एक बिरामीले समयमा अक्सिजन नपाएका कारण दुर्दान्त मृत्युवरण गर्नुपरेको छ।

अस्पतालको फितलो व्यवस्थापन र यसप्रति प्रदेश सरकारको उदासीनताप्रति भर्ना भएका बिरामी र तिनका आफन्तमात्र नभई यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि दिक्क भइसकेका छन्। अस्पतालमा वैशाख ५ गतेदेखि बिरामी राख्न थालिएको थियो।

बुधबार अक्सिजनको कमीले एक बिरामीले मृत्युवरण गरेपछि त्यहाँ कार्यरत एक डाक्टर डेनप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसबाट पनि स्वास्थ्यकर्मीको दिक्दारी स्पष्ट हुन्छ।

‘हामीले बाटो बनायौँ तर सोच्यौँ हामी हिँड्ने छैनौँ’,' डाक्टर आचार्य लेख्छन्, ‘अस्पताल बनायौँ, सोच्यौँ हामी उपचार गराउने होइनौँ। र त आज म मेरो अस्पतालमा बिना अक्सिजन लडिरहेछु। म मेरो गाउँमा बिरानो भइरहेछु।’

विराटनगर कोभिड अस्पतालको कोअर्डिनेटरसमेत रहेका डाक्टर आचार्यले स्टाटस लेखेर कोअर्डिनेटर पदबाट राजीनामा दिएका छन्। उनी आफ्नो मोबाइल स्विच अफ गरेर बसेका हुँदा सञ्चारकर्मीको सम्पर्कमा छैनन्।

प्रदेश सरकारको साधनस्रोतमा विराटनगनरमा कोशी अस्पतालले पुरानो नेसनल ट्रेडिङको भवनमा कोभिड अस्पतालको निर्माण गरेको हो। मुलुकमा लकडाउन सुरु भएको १० औँ दिनमै कोभिड अस्पतालको उद्घाटन गरिएको थियो। तर त्यही अस्पतालमा भर्ना भएका बिरामीले अक्सिजनको अभावमा छटपटाएर मृत्युवरण गर्न बाध्य हुनुपरेको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता ओमप्रकाश शाहका अनुसार अस्पतालको भौतिक निर्माणका लागि मन्त्रालयले गत आर्थिक वर्षमा २ करोड खर्च गरेको थियो। त्यस्तै सामाजिक विकास मन्त्रालयले अस्पतालमा स्वास्थ्य सामग्री र उपकरण खरिद गर्न गत आर्थिक वर्षमा १ करोडभन्दा बढी खर्च गरेको मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले बताए।

कोशी अस्पतालको प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवका अनुसार अस्पतालमा ५० शय्या छन् तर त्यहाँ तानतुन गरेर हाल ५८ बिरामी भर्ना गरिएको छ। जसमध्ये ६ बिरामीले मात्र अक्सिजन पाउँछन्। सेन्ट्रल सप्लाईबाट ६ वटा शय्यामा मात्र अक्सिजन आपूर्ति गरिएको छ।

यही अक्सिजन समयमा नपाएपछि विराटनगर ३ का ५७ वर्षीय पुरूषको बुधबार साँझ मृत्यु भएको हो।

मृत्यु भएका पुरुष दम र मधुमेहका बिरामी भएको अस्पतालका डाक्टर दीपक सिग्देलले जानकारी दिए। उनमा साउन २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका अनुसार उनी अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र थियो। उनी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि हुन्। प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

यस्तो छ कोभिड अस्पतालको दुर्दशा

त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा बिरामीको उपचारका लागि न्यूनतम पूर्वाधार पनि छैन। अस्पतालमा अक्सिजनका ३० सिलिन्डर छन्। एउटा सिलिन्डर खालि भएपछि अर्को जडान गर्न एक घन्टाभन्दा बढी समय लगाइन्छ। यसका कारण पनि बिरामी छटपटाएर अत्यन्तै पीडामा मर्नुपर्ने बाध्यता छ।

अस्पतालमा ‘हाई ब्लो’ अक्सिजनको व्यवस्थापन गरिदिन कोअर्डिनेटर डाक्टर आचार्यले मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई धेरै पटक अनुरोध गरेका थिए। तर राई र घिमिरेले यस कुरालाई कहिल्यै गम्भीरताका साथ लिएनन्। डाक्टर आचार्यले अस्पताल छाड्नुको एउटा मुख्य कारण यो पनि रहेको बताइन्छ।

अस्पतालमा ६ वटा भेन्टिलेटर भए पनि कुनै चालु नभएको स्वास्थ्यकर्मीले बताए। ती भेन्टिलेटर सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम औषधि र प्राविधिकको व्यवस्था पनि नभएको उनको दाबी छ। यसले गर्दा बिरामी अलिकति सिरियस हुनेबित्तिकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने गरिन्छ।

अस्पतालमा कार्यरत डाक्टर सिग्देलले त्यहाँ कम्तीमा पनि डबल म्यानिलोल्डको अक्सिजन सिलिन्डरको व्यवस्था गरिनुपर्ने सुझाव दिए। डबल म्यानिलोल्डको अक्सिजन सिलिन्डर भएमा ५ घण्टा चलाउन सकिने र उपचारकार्यलाई सहज बनाउन सकिने उनको कथन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell