PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ सरकारले आइसोलेसनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट



अनन्तराज न्यौपाने

प्रदेश १ सरकारले आइसोलेसनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर : प्रदेश नम्बर १ को सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ।

प्रदेश सरकारले स्थानीय तहहरूलाई आइसोलेसन केन्द्रको स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको हो। त्यस्तै ११ वटा जिल्ला अस्पतालहरूलाई कम्तीमा १० शय्या क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराइएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले बताए।

संयोजक सुवेदीका अनुसार प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० शय्याको आइसोलेसन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ।

त्यस्तै रङ्गेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १ सय शय्याको आइसोलेसन बनाउन रङ्गेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका–१ स्थित बी जेनेरल अस्पतालमा ५० शय्याको आइसोलेसन बनाउन गाउँपालिकालाई १० लाख, वराहक्षेत्र नगरपालिका स्थित रामानन्द आचार्य सेवा पीठ चतरामा १ सय शय्याको आइसोलेसनका लागि १५ लाख र सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको छ।

त्यस्तै प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्ला अस्पतालहरूलाई कम्तीमा १० शय्याको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ।

त्यस्तै कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराइएको छ।

यसैगरी बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell