PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के पूर्वमन्त्री मोहन बस्नेतले पीसीआर परीक्षण गर्न नमानेकै हुन्? यस्तो छ उनको भनाई



मुकुन्द घिमिरे

के पूर्वमन्त्री मोहन बस्नेतले पीसीआर परीक्षण गर्न नमानेकै हुन्? यस्तो छ उनको भनाई

काठमाडौं : पूर्वमन्त्री मोहनबहादुर बस्नेतको दिवंगत बुवा खड्गबहादुर बस्नेतलाई कोरोना पुष्टि भएपछि बाह्रबिसे नगरपालिकामा तनावको स्थिति सिर्जना भएको छ। यद्यपि यसलाई संक्रमणभन्दा पनि राजनीतिक तनावका रुपमा हेरिएको छ।

८४ वर्षीय बस्नेतको मृत्युको हप्तादिन पछि कोरोना संक्रमण पुष्टि भयो। त्योसँगै दाहसंस्कार भएको क्षेत्र सिल गरिएको छ।

अहिले बाह्रबिसे बजार पनि बन्द रहेको नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। 'अहिले बजार क्षेत्र बन्द छ,' उपप्रमुख पाख्रिनले भनिन्।

दाहसंस्कारमा सहभागीको स्वाब संकलन शुरु

दाहसंस्कारमा सहभागी भएकाहरुको स्वाब संकलन सुरु भएको छ। सहभागी भएकामध्ये केहीको रिपोर्ट सार्वजनिक भइसकेको छ। त्यसमध्ये शव बोक्ने बालकृष्ण बस्नेतलगायतको रिपोर्ट नेगेटिभ आएको छ।

खड्गबहादुरको शवयात्रामा सहभागी अरुले पनि स्वाब दिने क्रम जारी छ। यद्यपि पूर्वमन्त्री बस्नेतले भने स्वाब संकलन गर्न अस्विकार गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले बताएका छन्।  नगर प्रमुख शेर्पाले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मृतकसँग नजिक रहेकाहरुले सरकारी स्वास्थ्य टोलीलाई स्वाब दिन अस्विकार गरेको घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानकर्षण भएको छ।'

मृतकका परिवारले स्वाब दिन नमान्दा मलामी, नगरवासी र समवेदना दिन आएकाहरुमा संक्रमणको जोखिम रहने नगरपालिकाको तर्क छ।

उनलाई मनाउन जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाइँ आँफै पूर्वमन्त्रीलाई भेट्न पुगेका थिए।

कम्युनिस्टले संस्कारमाथि प्रहार गर्न खोजेको पूर्वमन्त्री बस्नेतको गुनासो

यता पूर्वमन्त्री मोहन बस्नेतले भने संस्कारमाथि कम्युनिस्ट सरकारले योजनाबद्ध तरिकाले प्रहार गर्न खोजेको आरोप लगाए। 'हामी चार भाइ अहिले हिन्दु संस्कारअनुसार कोरामा छौं। यस्तो बेलामा कसैले छुनसमेत नमिल्ने परम्परा छ,' पहिलोपोस्टसँग बस्नेतले भने, 'म १३ दिनपछि स्वाब दिन तयार छु।'

जबरजस्ती स्वाब लिन दबाव दिएर संस्कृतिमाथि प्रहार गर्न खोजिएको उनले बताए।

लकडाउन यता आफ्नो क्षेत्रमा राहत बाँड्न उनी खटेका थिए। आफू खटेपछि प्रभावित भएर जनता बुवाको दाहसंस्कारमा सहभागी भएको दाबी गर्दै यो कम्युनिस्ट सरकारले देख्न नसकेको दाबी गरे। बस्नेतले भने, 'कम्युनिस्ट नेताहरुले मेरो प्रभाव खप्न सकेनन्। त्यसैले त्यहाँ सहभागी काँग्रेस नेतालाई जबरजस्ती क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेका छन्।'

स्वाब संकलन गरेकाहरुको नेगेटिभ आए पनि षड्यन्त्र गरी पोजेटिभ देखाउन सक्ने आशंकासमेत उनले व्यक्त गरे। 'संक्रमित नभएकालाई पनि संक्रमित भयो भनेर प्रमाणित गराउन बेर छैन। किनभने उनीहरुलाई प्रमाणित गराउनु छ नि,' बस्नेतले भने।

शोकमा रहेको बेला आफूमाथि राजनीतिक खैलाबैला गरी प्रहार गर्न खोजिएको बस्नेतले गुनासो गरे।

सहयोग गर्छु भन्नुभएको छ : जनस्वास्थ्य प्रमुख

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले बस्नेतसँगको भेटमा सहयोग गर्ने वचन दिएको बताए।

'हिजो हामी गएका थियौं। उहाँको परिवारबाहेक २१ जनाको स्वाब कलेक्सन भयो। अहिले किरियामा बसेको हुनाले स्वाब कलेक्सन कहिले गर्ने र कसरी गर्ने भन्ने गुरुहरुसँग छलफल गरेर मात्रै जानकारी गराउँछु भन्नु भएको छ,' प्रमुख चापागाइँले भने, 'उहाँले असहयोग गर्दिन। म यहाँहरुलाई सहयोग गर्छु भन्नुभएको छ।'

बस्नेतको असन्तुष्टि

अस्पतालबाट जबरजस्ती शव निकालिएको भन्ने कुराहरु आएकोमा भने बस्नेत असन्तुष्ट छन्।

'अस्पतालबाट जबरजस्ती निकालियो भन्ने खालको कुरा मिडियामा आयो। हामीले हस्पिटलले निकाल्नु भनेपछि मात्रै ल्याएका थियौं। एक हप्तापछि अफवाह फैलियो,' उनले भने, 'हस्पिटलले यसबारे यथार्थ जानकारी गराउनु पर्छ।'

कोभिड संक्रमित भएको भए अस्पतालले नै शव आफन्तलाई दिन नमिल्ने गाइड लाइन रहेको उल्लेख गर्दै उनले लासमाथि षड्यन्त्र गर्न खोजिएको आरोप लगाए। उनले सभामुख अग्नि सापकोटा निकट अनलाइनबाट त्रुटिपूर्ण खबर लिएर सनसनी फैलाउन खोजेको दाबी गरे। भने, 'सभामुख सापकोटा निकट अनलाइनबाट भ्रामक समाचार आएपछि यो षड्यन्त्र शुरु भयो। हामी त हल्ला गर्न जान्दैनौ। नत्र उहाँ निकटलाई पनि त कोरोना लागेको थियो नि?'

कसरी भयो त्रुटि?

साउन २२ गते काठमाडौंको मनमोहन कार्डियो भाष्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा बस्नेतको मृत्यु भएपछि भोलिपल्ट बिहान ७ बजे शव उठाइएको थियो। त्यतिबेला बस्नेतको मृत्युको कारण दुबै किड्नी ड्यामेज भएको बताइएको थियो।

२७ गते बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालयको स्वास्थ्य कार्यालयले विज्ञप्ति निकाल्दै मृतक बस्नेतलाई कोरोना पुष्टि भएको जनायो। त्यसयता जबरजस्ती शव लिएको लगायतका आरोपहरु पनि पूर्व मन्त्री बस्नेतमाथि लाग्यो यद्यपि मन्त्री बस्नेतले लगत्तै फेसबुकमार्फत स्टाटस लेख्दै स्पस्टीकरण दिइसकेका छन्।

'हाम्रो ८४ वर्षीय पुजनीय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटलबाट जबरजस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यमप्रति गहिरो खेद प्रकट गर्दछु। वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले साउन २२ गते ११:४५ मा भएको थियो,' उनले स्टाटसमा लेखेका छन, 'उपचारमा संलग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउदछौं।'

त्यस्तै बस्नेतले त्यसअघि शिक्षण अस्पतालमा पीसीआर परीक्षण गराउँदा नतिजा नेगेटिभ देखिएकोसमेत उल्लेख गरेका छन्।

'शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटिभ देखिएको थियो। पहिला उपचारपछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं,' उनले तर्क गरेका छन्, 'दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं।'

बस्नेतले अगाडि प्रश्न गरेका छन् :  यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कत भयो?

यस्तो छ नगरपालिकाको विज्ञप्ति

यता बाह्रबिसे नगरपालिकाले मृतकको परिवारले स्वाब संकलन गर्न अस्विकार गरेको घटनाप्रति ध्यानकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell