PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु, एक जना पूर्व गाविस अध्यक्ष



राधेश्याम पटेल

कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु, एक जना पूर्व गाविस अध्यक्ष

वीरगंज : बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उपचारको क्रममा वीरगंजको नारायणी अस्पतालमा मृत्यु भएका दुवै जनाको बिहीवार दिउँसो १२ बजे आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी गराए।

मृत्यु हुनेमध्ये एक जना ६५ वर्षीय पूर्व गाविस अध्यक्ष रहेका छन्। उनलाई ३/४ दिन पहिले ज्वरो आएको र बुधवार अपरान्ह श्वासप्रवासमा समस्या आएपछि वयोधा अस्पताल गण्डकमा भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई बुधवार अपरान्ह साढे ३ बजे नारायणी अस्पतालको आइसोलेसन वार्डमा रेफर गरिएको थियो। नारायणी अस्पतालमा भेन्टिलेटर खाली नभएपछि शंकास्पद कोभिड वार्डमै उनको बिहीवार बिहान ९ बजे मृत्यु भएको थियो।

त्यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमराका ५० वर्षीय पुरुषको बिहीवार बिहान ८ बजे मृत्यु भएको थियो। उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका उक्त पुरुषलाई स्वास्थ्यमा गडबडी भएपछि नेशनल मेडिकल हस्पिटलबाट बुधवार दिउँसो १२ बजे नारायणी अस्पताल पठाइएको थियो।

यसैसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि बारा निजगढका ५ वर्षीय बालक र करैयामाई गाउँपालिकाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell