कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन प्रहरीसहित पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। डडेल्धुरा र धनगढीमा गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७९ जनाको कोरोना परीक्षण भएकोमा ६ महिला र २ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ३ जना प्रहरी छन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत २० प्रहरीको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको प्रवक्ता डीएसपी प्रतिक बिष्टले बताए। उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी अहिले आइसोलेसनमा छन्।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कैलालीको लम्की चुहानगरपालिका वडा नम्बर ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ। धनगढीमै गरिएको परीक्षणमा अछामको साँफेवगर नगरपालिका वडा नम्वर ३ का दुई पुरुष, कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्वर ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की एक÷एक महिलामा संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। ३ सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।
उनका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिकाका १ पुरुष र बैतडीको सिगास गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६९ पुगेको छ।