काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ।
संक्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पीसीआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड-१९ को संक्रमण देखिएको छ। यस्तै, सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।
ठूला शहरमा संक्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा गौतमले जानकारी दिए। उनले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन्।
शवबाट संक्रमण सर्दैन
मन्त्रालयले मृत शरीरबाट कोभिड-१९ को संक्रमण नसर्ने बताएको छ। शवले हाँच्छ्युँ नगर्ने र श्वास नफेर्ने नभएकाले संक्रमण नसर्ने उनले बताए। यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोएमा मात्र संक्रमण सर्ने उनको भनाइ छ। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ।
परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए।