PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भदौ एकदेखि पाँच गतेसम्मका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय



पहिलोपोस्ट

भदौ एकदेखि पाँच गतेसम्मका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत)मा दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाले पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ एक गतेदेखि पाँच गते राति १२ बजेसम्मका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागू गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्य क्षेत्र पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्ति अनुसार स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसाय बाहेक सबै बन्द हुने छन्।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारीसहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रवाह हुने (आन्तरिक अत्यावश्यक कार्य बाहेक) सबै सेवाहरु बन्द हुने जनाएको छ। त्यस्तै, धार्मिक, साँस्कृतिक, सामाजिक लगायत कुनै पनि कार्यमा १५ जना भन्दा बढीको जमघट तथा भेला नहुन समेत आग्रह गरेको छ।

एम्बुलेन्स, शवबाहन, दमकल, सुरक्षा, स्वास्थ्य र कुटनीतिक नियोगका सवारी साधनहरु एवं प्रेस र सञ्चारकर्मीका सवारी साधनहरु र अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारीहरु भने निर्वाध चल्ने भएका छन्।

प्रशासनको आदेश विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell