काठमाडौं : सरकारले हालसम्म मास्क नलगाई हिड्ने ४ लाख १९ हजार ५३८ जनालाई कारबाही गरेको छ। जसमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई गरेर छाडिएको तथा ३९ हजार ५०७ जनालाई मास्क वितरण गरी सम्झाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, २५ हजार २०७ जनालाई जरिबाना गरी छाडिएको मन्त्रालयले बताएको छ। हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी साधन तथा १९ हजार ४८३ यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।
कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयबाट मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिएको बताएको छ।
कोभिड-१९ को नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशन अनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको समेत बताइएको छ।
उपत्यकाभित्र काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुर जिल्लामा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको गृहले जनाएको छ। उपत्यकामा संक्रमण बढ्दै गएपछि थप कडाई समेत गरिएको छ।
