बुधबार नेपालमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भयो। एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमतिको मृत्यु भएको पहिलोपटक थियो। सरकारले कोरोना भाइरसबाट ‘जिरो डेथ’ नीति लिएको थियो। तर हाल संक्रमितको संख्यासँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। तर यस विषयमा सरकार हाल मौन देखिएको छ।
केही व्यक्तिको मृत्यु हुँदा ‘कोरोनाबाट मृत्यु भएको होइन’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बन्द छन्। उनी यसबारे बोलिरहेका छैनन्। बोलुन पनि कसरी, उनको तातोपानी र बेसारको फर्मुलाले अहिले काम गर्न छाडिसक्यो।
‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ’ भन्ने ओली अहिले आफ्नै कुर्सीमा रोग लाग्नबाट रोक्न व्यस्त छन्। पार्टीभित्र विपक्षीविरुद्ध प्रतिरोधात्मक क्षमता बलियो बनाउन व्यस्त छन्।
जनता क्वारेन्टाइन, आइसोलेसन, आइसियु, भेन्टिलेटरको कुरा गरिरहेका छन्। प्रधानमन्त्री 'राम नाम' लिनमै मग्न छन्। अस्पताल बनाउँछु भन्नु छैन मन्दिर बनाउन सहयोग गर्छु भन्दैछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेको अवस्थामा नै संक्रमणको रफ्तार बढे उपत्यकाले मात्रै होइन अरु जिल्लाले पनि बिरामी धान्न नसक्ने बताइसके। किनभने हजारौँको संख्यामा एकसाथ संक्रमित भेटिए न राख्ने ठाउँ छ न त गम्भीर बिरामी परेकालाई उपचार गर्ने ठाउँ नै। काठमाडौँ उपत्यकामा नै संक्रमित राख्ने स्थानको अभाव छ भने बाँकी क्षेत्रमा के होला?
संक्रमणको अवस्था पनि पछिल्लो दिनमा बढ्दै गएको छ। त्यसमाथि लक्षणसहितका संक्रमित देखिएपछि अवस्था झनै भयावह बन्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। मृतकहरुमा समेत लक्षण देखिएको छ। तर बजारमा कोरोना भाइरसको डर देखिँदैन।
एकजना मृत्यु हुँदा देखिएको महामारीको जोखिम अहिले ९५ जनाको मृत्यु हुँदा मानिसहरुमा देखिँदैन। केही संख्यामा कोरोना संक्रमित भेटिँदा आत्तिएका मानिसहरु अहिले २५ हजार संक्रमित पुग्दा लाग्दा मनमौजी भएका छन्।
सरकारले नखोल भनेका व्यवसाय खुलेका छन्। सरकार नजिकै छ तर त्यो देख्न सकेको छैन। जब देख्छ तब ढिला भइसकेको हुन्छ। संक्रमित पहिचान भएपछि बजार बन्द गर भनेर वडा आग्रह गर्छ। व्यवसायी एक दिन पसल बन्द गर्छन्, भोलिबाट सबै खुल्ला। पसलेले त बन्द गरेनन् नै ग्राहक पनि संक्रमणको अवस्था बुझ्दा बुझ्दै सपिङमा हिँड्दै। रोक्ने कसले? प्रशासनलाई माथिको आदेश नआएसम्म केही नहुने रहेछ।
बिना कुनै तयारी र पूर्ण योजना लकडाउन गरेको सरकारले कुनै तयारी र योजना बिना नै लकडाउन अन्त्य गर्यो। त्यसपछि संक्रमणको अवस्था झनै बढ्यो। दिनदिनै मृतकको संख्या बढ्दै गयो। त्यसबीच स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने क्षेत्रका उद्योगी व्यवसायीहरुले ‘आफ्नै खर्चमा अनिवार्य कोरोना परीक्षण’ गर भनेर निर्देशन दियो।
एकपटक कोरोना परीक्षण गरेको पाँ हजार ५००। कोरोना परीक्षण गर्न जाँदादेखि लाइनमा बस्दा र फर्कंदासम्म न कुनै सुरक्षा न सतर्कता। त्यसमाथि कोरोना परीक्षण गराउनै पर्ने उर्दी। केही रकम जम्मा भएकाले त गराउँला परीक्षण तर लकडाउनले आयस्रोतमा धक्का दिएकाहरुका लागि ५५०० को खर्च भारी नै पर्छ। त्यसैले पीसीआर परीक्षणलाई थप व्यवस्थित र सरल बनाउन सरकार लचिलो हुनुपर्ने माग उठिरहेको छ।
लकडाउन अन्त्य भएपछि जनता आ-आफ्नो काममा फर्किन थाले। बजारमा भीड बढ्यो। भदौसम्म एक जिल्लाबाट अर्को जिल्लामा लामो दूरीका सवारी प्रवेशमा रोक लगाइयो तर भारतबाटै मानिस काठमाडौँ पुगे। भारतमा संक्रमण बढ्दै गरेको अवस्थामा सीमा क्षेत्रबाट सयौं मानिस स्वेदश फर्किए। उनीहरुमा संक्रमण देखियो। बाहिरी जिल्लाबाट पनि हजारौँको संख्यामा मानिस उपत्यका भित्रिए। सिधा घर र कोठामा आयो, न क्वारेन्टाइनमा बस्नु र परीक्षण नै।
यता लकडाउन अन्त्य भएपछि जनता फेरि ‘नर्मल’ हुने प्रायसमा छन्। तर फेरि लकडाउन हुने भय छ सर्वसाधरणमा। करिब ४ महिना लकडाउनले रोकिएको आय आर्जन फेरि सुरु हुने अभिलाषाले महामारीबीच सडकमा ओर्लिएका उनीहरु सशंकित छन्, अर्को लकडाउनका लागि। केही स्थानमा त संक्रमणदर बढेसँगै ‘लकडाउन र निषेधाज्ञा’ जारी भइसकेको छ। शहर बजार सिल गरिएका छन्। हजारौँ जनता अहिले पनि घरभित्रै थुनिएका छन्।
यसबीच ‘सरकारले केही गरेन’ भन्ने जमात धेरै छ। भारतसँगको सीमाबाट हुने आवतजावत नियन्त्रण गर्न नसक्दा बढेको कोरोना कहर अहिले पनि जारी छ। उपत्यका प्रवेश गर्ने नाकामा नियन्त्रण गर्न नसक्दा काठमाडौँ उपत्यका कोभिड १९ को ‘हटस्पट’ बन्ने संघारमा छ।
न आएकालाई राख्ने क्वारेन्टाइन छ। न परीक्षण। अनि संक्रमणको दर त बढ्ने नै भयो।
सीमामात्रै सिल गरेर मानिसहरुको आवागमन नियन्त्रण गर्न सकेको भए अहिले उपत्यकामा मात्रै नभई देशभर संक्रमणको अवस्था धेरै नहुने विज्ञ बताउँछन्। तर ‘सीमामा कडाइ’ गरिने भन्ने मन्त्रिपरिषद्को निर्णय सुन्नबाहेक देख्न पाइएको छैन।
जनताको माग साधरण छ। सरकार अली ‘एक्टिभ’ हुनुपर्यो। १०२ दिनसम्म कोरोना संक्रमित नदेखेको भन्दै खुशीयाली मनाएको न्यूजिल्यान्डमा फेरि १८ संक्रमित देखिए। पूर्वतयारी हुँदाहुँदै पनि संक्रमण फैलियो त्यहाँ। कसरी अनुसन्धान हुँदैन। शहर नै लकडाउनमा गरियो त्यसपछि। हाम्रोमा त संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्तिलाई कहाँबाट संक्रमण भयो भन्ने समेत निश्चित हुनसकेको छैन, ९५ जनाको मृत्यु हुँदासम्म।
तर सरकार चाहन्छ जनताले राम्रो काम मात्र देखोस्। विरोध नगरोस्। कोरोनाविरुद्ध ‘कमान्ड’ सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार सरकारले काम गरेको नदेख्नेहरुमा ‘मोतियाबिन्दु’ भएको छ, ‘मति विग्रिएका’हरुले सरकारको आलोचना गरिरहेका छन्।
गत मंगलबार श्रीकृष्ण जन्माष्टमीमा उनले सरकारले काम गरेको नदेख्ने र आलोचना गर्नेहरुलाई कृष्णले सत्बुद्धि दिन प्रार्थना गरे। उनको त्यसो भनिरहँदा वीरगंजमा अस्पताल चहार्दा-चहार्दै कोरोना संक्रमितको मृत्यु भएको समाचार आइसकेका थिए। कोरोना रिपोर्ट नहुँदा अस्पतालले बिरामी भर्ना गर्न नमानेको खबरहरु सार्वजनिक भएका थिए। सरकारले राम्रै काम गरेको यही होला।
सरकार ‘हामी यस्तै त हो नि’ भन्दैछ, जनता त्यसमा लय मिलाउँदैछन्। अटेरी गरेर, सरकारले जस्तै। यस्तै अटेरीपनका कारणले नै युरोप र अमेरिकामा संक्रमण फैलिएको थियो। भारतमा संक्रमण रोक्न सकिएको छैन। त्यसैले अहिले कोरोनालाई अटेर गर्नुभन्दा योजना र तयारी गरेर त्यससँग जुध्ने बेला हो। त्यसका सरकारमा बसेकादेखि सडकमा ओर्लिएका सबैको मति सुधार हुनैपर्छ।